कञ्चनपुर। कञ्चनपुरमा भारतीय एसएसबीले सडक निर्माण र विद्युत् विस्तारमा अवरोध गरेका छन् । कञ्चनपुरको बेलौरीस्थित नेपाली भूमिमा हुलाकी सडक मर्मत र विद्युत् लाइन विस्तारमा भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गरेका छन्।
बेलौरी नगरपालिका वडा नम्बर ८ स्थित कालो पुलदेखि पचुईसम्मको करिब १७ सय मिटर हुलाकी सडक खण्डको स्तरोन्नतिमा भारतीय पक्षले विगत ३ वर्षदेखि अवरोध सृजना गरिरहेका छन् । हुलाकी सडकको काम हुन नसक्दा अहिले बर्खामा सडकमा ठूल्ठुला खाल्डा परेर पानी जम्दा स्थानीयले सास्ती खेप्नु परेको छ। भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध कायमै राखेपछि स्थानीयलाई आवतजावतमा समस्या भएको छ।
यस्तै विद्युत् विस्तारमा पनी अवरोध गर्दा विद्युत् सेवा स्थानियहरुसम्म पुगाउन सकिएको छैन्।हुलाकी सडकको किनारैकिनार विद्युत्को पोल गाड्ने कार्य भइरहेका वेला पुगेको एसएसबीको टोलीले कार्य रोकेको प्राधिकरण बेलौरी वितरण केन्द्रका प्रमुख कपिल जोशीले जानकारी दिए । विद्युत् लाइन विस्तारका लागि जगदम्बा बेताल कन्स्ट्रक्सनले ठेक्का पाएको छ । चालू आर्थिक वर्षभित्रै कार्य सक्ने गरी ठेक्का सम्झौता गरिएको छ । विद्युत् लाइन विस्तारमा भारतीय सुरक्षाकर्मीले अवरोध गरेपछि पोल गाड्ने कार्य अलपत्र परेको छ।
कञ्चनपुरस्थित नेपाल भारत सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरु जीर्ण बन्दै गएका छन्।सीमा विवादकै कारण नयाँ स्तम्भ राख्ने काम पनि रोकिएको छ। स्थानीय बासिन्दाले हुलाकी राजमार्ग क्षेत्रको जग्गा नेपालकै भए पनि भारतीय पक्षले पटक–पटक अवरोध गरी दुःख दिने गरेको गुनासो गरेका छन्। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले विद्युत् लाइन विस्तारमा के कारणले रोकेको रहेछ, बुझ्ने प्रयासमा रहेको बताए ।
नेपालतर्फ अहिले सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा निगरानी बढाएको छ। अन्तर्राष्ट्रिय सीमा सरोकार समूहका अध्यक्ष पल्लवराज भट्टले सीमाक्षेत्रमा आउने विवाद, भारतीय पक्षबाट हुने हस्तक्षेपको मूल कारण स्ट्रिप नक्सा भएको बताए ।‘स्ट्रिप अर्थात् धर्से नक्सा निर्माण गर्दा गम्भीर त्रुटि भएको अध्यक्ष भट्टले बताए, ‘उतिवेला नक्सा निर्माण गर्दा हाम्रो भूमि भारतमा देखाइएको छ, त्यही भएर यस्तो समस्या आएको हो। सीमा समस्या समाधान गर्न उक्त नक्सा संशोधन गर्नुपर्ने बताएका छन्।