धनगढी। भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि सुदूरपश्चिमका तत्कालीन वन निर्देशक हेमराज विष्ट पुनः पूर्ववत जिम्मेवारीमा फर्किएका छन्। भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि पुनः पूर्ववत जिम्मेवारीमा फर्किएका हुन् ।
प्रदेश वन निर्देशनालयको निमित्त निर्देशक भएका बेला भ्रष्टाचार मुद्दा लागेपछि निलम्बनमा परेका विष्ट अदालतबाट दोषी ठहर नभएपछि पुनः निमित्त निर्देशकको रुपमा कामकाजमा फर्किएका छन् ।उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी दिपेन्द्र केसीले विष्ट केही दिनअघिदेखि निमित्त निर्देशकको रुपमा काममा खटिएको जानकारी दिए।
‘अदालतबाट सफाई पाएपछि विष्ट मन्त्रालयमा हाजिर भएको र मन्त्रालयले उनलाई पहिलेकै जिम्मेवारी वन निर्देशनालयको निमित्त निर्देशकका रुपमा कामकाज गर्नेगरी खटाएको उनले बताए । झण्डै ७ करोड रुपैयाँ अकुत आर्जन गरेको भन्दै भ्रष्टाचार मुद्दामा मुछिएका विष्टले विशेष अदालतबाट सफाई पाएका थिए।
विशेष अदालतले विष्टले गैरकानुनी सम्पत्ति आर्जन नगरेको ठहर गर्दै सफाइ दिएको हो । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र न्यायाधीश बलभद्र बास्तोलाले विष्ट र उनकी श्रीमती रुबी जिसीलाई अकुत आर्जनमा सफाइ दिएको थियो । विष्टविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ पुस २०७८ मा विशेग अदालतमा मुद्दा दायर गरेको थियो ।