धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले विपत् प्रतिकार्य योजना अझै बनाएको छैन । मनसुन लागेको आधा समय भइसक्दासम्म यो प्रदेश विपत् प्रतिकार्य योजनाविहीन छ।
मनसुन सिजनमा प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण तथा खोज, उद्धारलाई प्रभावकारी बनाउन हरेक वर्ष मनसुनअगावै वा मनसुन लाग्नेबित्तिक्कै विपत् प्रतिकार्य योजना बनाउन आवश्यक हुनेगर्छ।धेरैजसो स्थानीय तहले विपत् प्रतिकार्य योजना तयार पारिसके पनि बाढी, पहिरोजस्ता कारणले धनजनको क्षति भइरहेका बेला प्रदेश भने विपत् प्रतिकार्य योजनाविहीन रहेको छ ।
विपत् प्रतिकार्य योजनाको ड्राफ्ट तयार पारिएको छ । तर, त्यसलाई स्वीकृत गरेर अनुमोदन गर्न बाँकी रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपत् व्यवस्थापन शाखाका अधिकृत जनक धामीले बताए। उनका अनुसार विपत् प्रतिकार्य योजना धेरै पहिले तयार पारिएको छ। अनुमोदन भइसकेको छैन ।“अस्ति नै अनुमोदन गर्ने तयारी थियो” धामीले भने “सुझाव सङ्कलन गर्ने भनेर अनुमोदन गरिएन ।” उहाँले गत वर्षको विपत् प्रतिकार्य योजनामा केही थप गरेर त्यसलाई अनुमोदन गरिने बताए।
प्रदेशमा प्राकृतिक विपत् व्यवस्थापनको जिम्मा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको काँधमा छ। अहिले प्रदेशको विभिन्न जिल्ला बाढी, पहिरोजस्ता विपत्बाट आक्रान्त छ । विपत् प्रतिकार्य योजना नबनेकाले यस वर्ष प्राकृतिक प्रकोपबाट प्रदेशमा के कति मानिस प्रभावित हुनसक्ने भन्ने यकिन छैन। प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार २०७९ वैशाखदेखि २०८० असार मसान्तसम्म बाढी, पहिरो, चट्याङलगायतका विपत्मा परेर ८५ जनाको ज्यान गएको छ।
मृत्यु हुनेमा ३४ पुरुष र ५१ जना महिला रहेका छन् । त्यस्ता घटनामा परेर १०२ पुरुष र ११६ महिला गरी २१८ जना घाइते भएको जनाइएको छ। पहिरोमा परेर २८, चट्याङ लागेर १४ जनाले ज्यान गुमाएका छन्। हिमपहिरोमा परेर नौ, बाढीमा आठ, भूकम्पमा सात जनाले ज्यान गुमाएका छन् । त्यस्तै, आगलागीमा छ, जनावर आतङ्कमा छ, सर्पदंशबाट चार जनाले ज्यान गुमाएका छन् । हावाहुरी, भारी वर्षा र अन्य कारणले एक–एक जनाले ज्यान गुमाएका छन् ।गोरखापत्रबाट