काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धम्क्याउँदै ३० करोड चन्दा माग्नेलाई १० वर्ष कैद माग गर्दै अदालतमा मुद्दा दायर भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान सकेपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अदालतमा मुद्दा दायर गरेको हो।
प्रसाईंलाई धम्क्याएर चन्दा माग्ने खोटाङकाु कुभिण्डेका ४२ वर्षीय प्रवेश लामा बताउने रमेश कुमार गुरुङविरुद्ध अपहरण र लिखितसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको हो। अपहरणसम्बन्धी कसुरमा ७ देखि १० वर्षसम्म कैद र ७० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। यस्तै पीडित प्रसाईंलाई क्षतिपूर्ति भराउनसमेत माग गरिएको छ।
रमेश कुमार गुरुङले प्रसाईंलाई फोन गरेर हत्या गर्ने योजना बनेको र त्यसबाट सुरक्षित हुन चाहने हो भने ३० करोड रुपैयाँ दिनुपर्ने बताउँदै असार १३ गते टेलिफोन गरेका थिए। फोनमा लामो कुराकानी नगरौं भन्दै उनले एसएमएस गरेका थिए। माग गरेको रकम दिएमा जीवन बच्नसक्ने भन्दै प्रसाईंलाई पछि म्यासेज गरेका थिए। नदिए अपहरण गरी हत्या गर्ने धम्की दिएर फोन गरेका थिए।पछि प्रसाईंले ५ करोड दिन्छु भनेर प्रहरीलाई खबर गरेका थिए।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रसाईंलाई धम्क्याउने व्यक्तिलाई रकम लिन बोलाएर पक्राउ गरेको थियो। असार २६ गते बिहान साढे ६ बजे महाराजगन्जस्थित कतार भिसा सेन्टर र एभरेस्ट बैंकको बीचमा बोलाएका थिए। तर प्रसाईंले आफ्ना गाडी चालकलाई झोलामा कपडा राखेर पठाएका थिए। फिरौती रकम लिन आएका गुरुङलाई त्यहीबेला सीआईबीले पक्राउ गरेको थियो। उनले धम्क्याउँदा प्रयोग गरेको मोबाइलको सिम अर्कैको नागरिकता पेस गरेर लिएको पाइएको छ। सोही कारण उनलाई किर्तेको कसुरमा पनि मुद्दा चलाउन लागिएको हो।