धनगढी। सुदूरपश्चिम प्रदेशमा सरकार विस्तारको तयारी भइरहेको छ । विगत सात महिना देखि मन्त्री विहीन रहेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा आज मन्त्री नियुक्त गर्ने तयारी भइरहेको स्रोतको दाबी छ।
नागरिक उन्मुक्ति पार्टीलाई उक्त मन्त्रालय दिने सहमति भइसकेको छ । तर, नागरिक उन्मुक्ति पार्टीले दुई मन्त्रालयको दाबी नछोडेपछि अहिलेसम्म सरकारले पूर्णता पाउन सकेको थिएन । आज भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा रामेश्वर चौधरीलाई र कैलाश चौधरीलाई मन्त्री बनाउने तयारी भइरहेको स्रोतको दाबी छ। नागरिक उन्मुक्तिले पार्टीबाट मन्त्री बन्नेहरुको नाम मुख्यमन्त्री कमल बहादुर शाहलाई पठाइसकेको छ।
मुख्यमन्त्री काठमाडौँमा रहेका कारण सरकार विस्तार हुन सकेको थिएन । आज मुख्यमन्त्री काठमाडौँबाट कैलाली फर्किँदै छन् । उनी फर्किए लगत्तै सरकार विस्तार हुने स्रोतको दाबी छ । सत्तारूढ गठबन्धनमा भागबन्डाको सहमति जुट्न नसकेपछि गत २७ पुसदेखि मन्त्रालय नेतृत्वविहीन बन्न पुगेको हो । मुख्यमन्त्री कमलबहादुर शाहले सरकारको नेतृत्व गरेको साढे पाँच महिनासम्म भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री नियुक्त गर्न सकेका छैनन्।
त्यसअघिका मुख्यमन्त्री राजेन्द्रसिंह रावल नेतृत्वको सरकार मन्त्रिपरिषद् विस्तार नहुँदै एक महिनामै ढलेको थियो । रावलले विश्वासको मत पाउन नसकेपछि २७ माघमा मुख्यमन्त्री नियुक्त भएदेखि शाहले यो मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका छन् । मुख्यमन्त्रीले माओवादीलाई दुई मन्त्री र एक राज्यमन्त्री दिएर सरकार विस्तार गर्दा नागरिक उन्मुक्तिले पनि दुई मन्त्रालय मागेको थियो । गाडी दुर्घटनामा परेर मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालय पनि एक महिनादेखि मन्त्रीविहीन छ ।
गत ५ असारमा उनी चढेको गाडी बझाङमा दुर्घटना भएको थियो । मुख्यमन्त्री शाहले भने सरकारलाई पूर्णता दिन तयारी भइरहेको बताए । नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउन मन्त्रालय भागबन्डाको विषय सहमतिनजिक पुगेको उनले बताए । ‘दुई–चार दिनभित्रै सरकारले पूर्णता पाउने गरी छलफल अघि बढेको छ,’ मुख्यमन्त्री शाहले भने, ‘दुवै मन्त्रालय विस्तार सँगसँगै हुने बताइएको छ ।