दार्चुला। भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि महाकाली नदीमा पानीको सतह बढेको छ।
मंगलबार बिहान ५ बजे खोलिएको बाँध खुला रहने हुँदा त्यसपछि पनि केही समय महाकाली नदी आसपास क्षेत्रमा नजान आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए। उनले भने, “ त्यसपछि पनि महाकाली नदीमा पानीको सतह बढ्ने भएकाले सतर्कता अपनाउन तथा नदी वारपार नगर्न आग्रह गरेका छौँ।”
महाकाली नदीमा पानीको सतह बढ्दा स्थानीयवासी त्रसित भएका छन्। सदरमुकाम खलङ्गाको रिङ्गलताल क्षेत्रमा तटबन्धको माथिल्लो भागमा पानीको बहाव पुगेपछि घर नै बगाउने हो कि भन्ने चिन्ता बढेको स्थानीय सगुन बोहराले बताए। भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि महाकालीमा बाढी आएको छ। बाढीका कारण बैतडी र दार्चुलामा क्षति पुग्ने सम्भावना देखिएपछि उच्च सतर्कता अपनाइएको छ।
बाँध खोलेसँगै महाकाली नदीमा आएको बाढीले भारततर्फ नदी किनाराको एक घर बगाएको छ। बाढीले दार्चुलापारि भारततर्फको धारचुलाको बस्तीसमेत कटान गर्न थालेको छ।भारततर्फ नदीले जमिन कटान गर्न थालेको छ। दार्चुलादेखि बैतडी, डडेलधुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकाली नदीले सर्वसाधारणलाई दुःख दिने गरेको छ।भारत सरकारले सिल्ट सफाइको कामका लागि उक्त परियोजनाको बाँधका ढोका खोल्ने जानकारी यसअघि गराएको थियो।
धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध बर्खाका बेला हरेक वर्ष खोल्ने गरिएको छ। विसं २०७० असार २ र ३ गते एक्कासि धौलीगङ्गाको बाँध खोलेपछि दार्चुला सदरमुकामका सयभन्दा बढीले घर बगाएको थियो। यस पटक भने अगाडि नै सूचना दिएको जनाइएको छ।धौलीगङ्गा बाँध खोलेपछि दार्चुलामा प्रमुख जिल्ला अधिकारी किरण जोशीसहित सुरक्षा प्रमुखको टोलीले महाकाली नदी तटीय क्षेत्रको निरीक्षण गरे ।