दार्चुला। महाकाली नदीले भारतको धार्चुलामा एक घर बगाएको छ। भारतको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिएपछि नदीमा बढेको बहावले घर बगाएको हो।
नेपालतर्फ पनि दार्चुलाको महाकाली नगरपालिका १ र दुहु गाउँपालिका वडा नम्बर ३ श्रीबगरको बस्तीमुनिबाट नदीले कटान गर्न थालेको स्थानीयले बताएका छन्। अहिले नदीले खेतका किनार काट्न थालेको स्थानीय सुरेन्द्रबहादुर बमले बताए। लास्कु खोला किनारमा पनि महाकालीले कटान गरेको छ।
भारततर्फ एउटा घर बगाएको जानकारी आएको र नेपालतर्फ घरमा क्षति नभए पनि खेत कटान भइरहेको प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिएका छन। मंगलबार बिहान ५ बजेदेखि खोलिएको बाँधको ढोका बेलुका ८ बजेसम्म खुला रहनेछन्।