धनगढी। धनगढी उपमहानगर ५ शिवनगरमा रहेको चैतन्य पाठशालाले धान दिवस मनाएके छ । राष्ट्रिय धान दिवसको अवसरमा चैतन्य पाठशालाका विद्यार्थी तथा शिक्षकले धान रोपेर धान दिवस मनाएका हुन्।
विद्यार्थीहरूलाई व्यवहारिक रूपमै रोपाइँबारे ज्ञान होस् भन्ने उद्देश्यका रोपाइँ गरिएको चैतन्यका अध्यक्ष गणेशप्रसाद जोशीले जानकारी दिएका छन्। जसरी मौलिक संस्कार संस्कृती सभ्यतामा रहेर जसरी धान रोपिन्छ त्यसरी नै धान रोपाईले पनी शिक्षा प्रदान गरिरहेको उनले बताए। चैतन्यका अध्यक्ष जोशीले भने, हामीले संस्कारसहितको व्यवहारिक शिक्षामा जोड दिइरहेका छौं। यस्ता खाले क्रियाकलापले विद्यार्थीहरूले कृषिका बारेमा सहजै बुझ्ने छन्।
उनीहरूको कृषि र किसानप्रतिको सम्मान पनि बढ्ने छ। आगामी दिनमा पनि यस्ता खाले व्यवहारिक क्रियाकलाप गर्दै जाने जोशीको भनाइ छ। धान दिवसको अवसरमा विद्यार्थी र शिक्षकले खेतमै दही चिउरासमेत खाएका थिए। उनीहरूले ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो गरेका थिए। यस वर्ष जलवायु अनुकूलित कृषिमैत्री प्रविधि, धान उत्पादनमा बृद्र्धि भन्ने नाराका साथ धान दिवस मनाइएको हो। वि.सं. २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।