धनगढी। आर्थिक वर्ष सकिन लाग्दा सुदूरपश्चिम प्रदेश सरकारको आधा प्रतिशत बजेट खर्च भएको छैन्। सरकारले चालु आर्थिक वर्ष सकिन २३ दिन बाँकी मात्र बाँकी रहँदा न्यून बजेट खर्च गरेको देखीएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ।
चालु आर्थिक वर्ष सकिन जम्मा २३ दिन बाँकी छ। असार २४ पछि सरकारी खाताबाट आर्थिक कारोबार हुँदैन। तर, सातवटै प्रदेश सरकारको अहिलेसम्म विकास बजेट खर्च निराशाजनक छ। समग्रमा यी प्रदेशको ५० प्रतिशत बजेट खर्च हुन सकेको छैन। असार महिनासँगै कामको गति चौगुना बढाएको प्रदेश सरकारले अबको २४ दिनमा लक्ष्यअनुसार बजेट खर्च नसक्ने अवस्था देखीएको छ।
सुदूरपश्चिमको ३६ अर्ब ७५ करोड रुपैयाँको बजेटमध्ये ४३दशमलब ७४ प्रतिशत खर्च भएको छ। चालुतर्फ ५१दशमलब ३२ प्रतिशत खर्च हुँदा पुँजीगतर्फ ४०दशमलब ४५ मात्रै भएको छ । ८० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य राखेको सुदूरपश्चिम सरकारले लक्ष्य भेटाउने हो भने असार महिनामा मात्रै ३५ प्रतिशत बजेट खर्च गर्नुपर्छ। आर्थिक वर्षको सुरुदेखि नै बजेट कार्यान्वयनमा लैजान भन्दै प्रदेश सरकारहरुले असार १ गते आगामी आर्थिक वर्षको बजेट ल्याउँछन्।
त्यसअनुसार पहिलो चौमासिकमा कम्तीमा १५, दोस्रोमा ४० र तेस्रोमा बाँकी ४५ प्रतिशत बजेट खर्च गर्ने प्रावधान छ। तर, सातवटै प्रदेशको पहिलो र दोस्रो चौमासिकको खर्च गराइ कछुवा गतिमा छ। खरिद र ठेक्कापट्टा सम्बन्धी प्रावधानलाई नियमअनुसार अगाडि बढाउन नसक्दा र सरकार पुनर्गठनपिच्छे आफू अनुकुलका कार्यक्रम ल्याउदा यस्तो भएको जानकारहरुले बताएका छन्। समयअनुसार बजेट खर्च नहुँदा बजारमा आर्थिक मन्दी देखिने, रोजगार प्रवर्द्धनमा मन्दी देखिने र विकासमा सुशासन नहुने तर्क गरिएको छ।