धनगढी। नेपाल विद्यार्थी संघ कैलालीले विद्युत नियमित हुनुपर्ने माग गर्दै नेपाल विद्युत प्राधिकरण धनगढी शाखालाई ज्ञापनपत्र बुझाएको छ। आज प्राधिकरणका निमित्त कार्यालय प्रमुख रोशन कुमार ठाकुरलाई सोमबार ज्ञापनपत्र बुझाएको हो।
नेविसंघका अध्यक्ष मनिस कुँवरले विद्युत अनियमित हुँदा त्रिभुवन विश्वविद्यालयमातहात अध्यापन गरिरहेका विद्यार्थीहरुको परिक्षा प्रभावित भइरहेको बताए । उनले भने –‘त्रिविले परिक्षा मिति तय गरिसकेको छ । यस बेला घर भाडामा बसेका विद्यार्थीहरु परिक्षाका तयारीमा छन् तर, विद्युत वेला–वेला जाँदा समस्या भएको छ ।’ उनले विद्युत प्राधिकरणले ‘लोडसेडिङ’मुक्त घोषणा गरेको भएपनि धनगढीमा अझै लोडसेडिङ कायम रहेको बताए।
उनले विद्युत नियमित नहुँदा चर्को गर्मिका कारण ज्येष्ठ नागरिक, बालबालिका प्रभावित भइरहदा त्यसैमा विद्युत नहुदा उनीहरु थप समस्यामा परेको बताए । निमित्त कार्यालय प्रमुख ठाकुरले विद्युतको आपूर्ति भन्दा बढी माग भइरहेकाले व्यवस्थापनमा समस्या देखिएको बताए । उनले लोडसेडिङ नभइ विद्युतको प्रयोग बढ्दा ‘लोड’ पुर्याउन नसकिएको बताए । उनले विद्युत कार्यालय यो समस्या समाधान गर्न तर्फ लागिरहेको बताए।