कञ्चनपुर। कञ्चनपुरका एक किशोर नक्कली फेसबुक खोलेर चरित्रहत्या गरेको आरोपमा पक्राउ परेका छन्। नक्कली फेसबुक प्रोफाइल बनाई चरित्रहत्या गरेको आरोपमा कञ्चनपुरको दोधाराचाँदनी ४ का १८ वर्षीय बिनोद सुनारलाई प्रहरीले पक्राउ गरेको हो।
सामाजिक सञ्जाल फेसबुक मार्फत एक बालिकाको चरित्र हत्या गरेको आरोप छ। नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटी काठमाडौंबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको समन्वयमा उनलाई कञ्चनपुरबाट पक्राउ गरेको हो। सामाजिक सञ्जालमा पीडित नाबालिकाको नाम र तस्बिर सहितको नक्कली प्रोफाइलबाट उनीहरुबीच भएको अनलाइन कुराकानी सम्पादन गरी अश्लील तस्बिर र भिडियोमा जोडी पीडितको आफन्तहरूलाई पठाई चरित्रहत्या गरेको भन्दै पीडितले उजुरी दिएकी थिइन् ।
पीडित उजुरीको आधारमा प्रारम्भिक अनुसन्धान र प्राविधिक विश्वलेषणबाट ती किशोरको संलग्नता रहेको खुल्न आएको प्रहरीले जनाएको छ। बलिकाले लकडाउनको समयमा अनलाइन कक्षा लिन खोलेको सामाजिक सञ्जाल फेसबुकमार्फत ती किसोरसँग मित्रता भएको थियो। प्रहरीले उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अपराध अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भैरहेको जनाएको छ।


