धनगढी : गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय कार्यान्वयन गर्न माग गर्दै नेकपा एमाले कैलालीले धनगढीमा प्रर्दशन गरेको छ । शुक्रबार साँझ एमाले जिल्ला कमिटिको कार्यालयदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडिसम्म ¥यालीसहित एमालेले प्रर्दशन गरेको हो ।
प्रर्दशनका क्रममा मेडिकल माफियाको प्रभावमा परेर मन्त्रिपरिषद्को निर्णय विपरीत सरकारले गेटामा विश्वविद्यालयको सट्टा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा गरेको भन्दै सरकारविरुद्ध नाराबाजी गरिएको छ । गेटामा मेडिकल विश्वविद्यालय कायम नगरिएको खण्डमा थप आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिइएको छ ।
२९ माघमा सरकारले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो तर १५ जेठमा ल्याइएको अगामी आर्थिक वर्षको बजेटमा भने शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा गरेपछि विश्वविद्यालय माग्दै सुदूरपश्चिममा आन्दोलन भइरहेको छ ।
यहाँ शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ गठीत संघर्ष समितिले समेत विभिन्न आन्दोलनका कार्यक्रम गरिरहेको छ ।