धनगढी। कैलारी गाउँपालिकाले बगर खेती गर्नेलाई शतप्रतिशत अनुदान दिएको छ। कैलालीको कैलारी गाउँपालिकाले वर्षेनी बाढी र डुबानबाट प्रभावित हुँदै आएका परिवारलाई लक्षित गरी बगर खेतीमा शतप्रतिशत अनुदान दिएको छ।
जिल्लामै सबैभन्दा बढी बाढी र डुबानबाट प्रभावित हुँदै आएको गाउँपालिकाले प्रभावित परिवारको दैनिक जीविकोपार्जन सहज बनाउन बगर खेतीमा प्रोत्साहन गरेको हो। गत वर्षको बाढीबाट बिस्थापित १६ घर परिवारलाई टेन्टमा जंगलमा बसोबास गराउँदै आएको गाउँपालिकाका मोहनपुर, शिवरत्नपुर, हौसलपुर, बैसपुर लगायतका बाढी प्रभावितलाई बगर खेतीमा अनुदान दिएको हो।
बगर खेती गर्ने प्रविधिका बारेमा गाउँपालिकाको विभिन्न सामाजिक संस्थासँग सहकार्य गरेर इच्छुक किसानहरुलाई खेती प्रणालीको प्रशिक्षण दिने गरिएको गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले बताए ।गाउँपालिकाबाट अनुदान पाएपछि बाढी प्रभावित समुदाय बगर खेतीमा लागेका हुन्। गाउँपालिकाले उनीहरुलाई बालुवामा खेती गर्ने तरिका सिकाउनुको साथै बीउ, मल तथा कृषि विज्ञको सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ।अहिले मोहना, घुरालगायतका नदी किनारमा किसानको बगर खेती देख्न सकिन्छ। नदी किनारका अधिकांश स्थान बगर खेतीका कारण हरियो भएका छन्।