काठमाडौं। नेकपा एमालेले २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको नरसंहारको घटनामा तीनै तहका अदालतबाट दोषी ठहर रेशम चौधरीलाई सरकारले माफी दिएर गम्भीर गल्ती गरेको निष्कर्ष निकालेको छ। एमालेको शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले रेशमलाई माफी दिनु गम्भीर विषय भएको निष्कर्ष निकालेको हो।
‘तीनै तहको अदालतले दोषी ठहर गरेका व्यक्तिलाई आममाफी दिनु गम्भीर गल्ती हो’, एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘सर्वोच्च अदालतको फैसलाको पूर्णपाठसमेत नआउँदै गरिएको यो निर्णयले अनेक प्रश्न जन्माउँछ।’
एमालेले सत्ता स्वार्थका लागि रेशमलाई माफी दिइनु गम्भीर भन्दै यसले सुरक्षाकर्मीको मनोबल घटाउने पनि जनाएको छ। ‘सरकारको यो कदमले कार्यस्थलमा कर्तव्य पालना गरिरहेका प्रहरीको मनोबल गिराउने काम भएको छ’, उपमहासचिव ज्ञवालीले भने। रेशमलाई जेठ १५ गतेको गणतन्त्र दिवसबाट लागु हुने गरी सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए। त्यसपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका उनी रिहा भइसकेका छन्