काठमाडौँ। आर्थिक वर्ष २०८०/८१ को बजेट आज सार्वजनिक हुँदैछ।संघीय संसद भवन, बानेश्वरमा बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमार्फत बजेट सार्वजनिक हुन लागेको हो। बैठक दिउँसो ४:१५ बजे बोलाइएको छ।
‘अर्थमन्त्री डा. प्रकाशशरण महतले आ.व २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्नु हुने’ सम्भावित कार्यसूचीमा उल्लेख छ।राजस्व सङ्कुचनको सामना गरिरहेको सरकारले बजेटमार्फत अनावश्यक खर्च कटौतीको नीति अख्तियार गर्ने तयारी गरेको छ।सरकारले आर्थिक सुधार गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने गरी बजेट ल्याउने भएको छ।
१७ खर्बभन्दा केही रकम बढ्ने गरेर अर्थ मन्त्रालयले बजेट ल्याउने तयारी गरेको छ। चालु आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट आएको थियो, जसलाई मध्यावधि समीक्षामार्फत घटाएर १५ खर्ब ४९ अर्ब खर्च हुने अनुमान गरिएको थियो । अर्थ मन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री महतले बजेटमा आर्थिक सुधारसहित अनावश्यक बोझ भएका समितिहरु खारेज गर्ने घोषणा बजेटमा गर्नेछन् ।
अर्थमन्त्री महतले बजेटमार्फत कतिपय विकासमा अवरोध पुगिरहेका नीतिगत अड्चन समाधान हुने बताएका छन्। साथै उनले बजेटमार्फत सरकारलाई अतिरिक्त दायित्व सिर्जना हुने नयाँ कार्यक्रम घोषणा नहुने सङ्केत पनि गरेका छन्। नयाँ संविधान जारी भए पछि हरेक वर्ष गणतन्त्र दिवसका दिन अर्थात् जेठ १५ गते सरकारले नयाँ बजेट सार्वजनिक गर्दै आएको छ।