धनगढी। सुदूरपश्चिमका तिन सहकारी कालोसूचीमा पर्ने सम्भावना बढेको छ । युवा तथा खेलकुद मन्त्रालय मातहत रहेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषले थोक कर्जा सम्झौता गरी लिएको ऋण चुक्ता गर्न ७० सहकारीलाई आग्रह गरेको हो।
कोषले आज एक सार्वजनिक सूचना प्रकाशित गरी कोषलाई बुझाउनुपर्ने साँवा, ब्याज र हर्जाना सहितको सम्पूर्ण रकम ३५ दिनभित्र बुझाउन आग्रह गरेको हो । तोकिएको समयमा रकम नबुझाएमा संस्थाका सञ्चालक समिति, लेखा समिति एवम् कर्जा उप–समितिको तीनपुस्ते विवरणसहित रकम असुलीका लागि कालोसूचीमा राख्ने कोषले चेतावनीसमेत दिएको छ।
जस अनुसार सुदूरपश्चिममा बाजुराको बुढीनन्दा नगरपालिका–१ को जसुदा बचत तथा ऋण सहकारी संस्था, कैलालीको कैलारी गाउँपालिका–९ स्थित परिश्रम कृषि सहकारी संस्थाको नाममा सूचना प्रकाशित भएको हो ।यस्तै अछामको पञ्चदेवल बिनायक गाउँपालीकामा रहेको दलित सृजनशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन् । युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट कर्जा लिई निर्धारित समयमा सावाँ, ब्याज र हर्जाना नतिर्ने ती तिन सहित देशका ७० वटा सहकारी संस्थाहरुलाई कालोसूचीमा राख्न सूचना प्रकाशित भएको छ।
कोषले कर्जा चुक्ता गर्नका लागि बुधबार सूचना जारी गरेर ३५ दिनभित्र सावाँ, ब्याज, हर्जाना चुक्ता नगर्ने सुदूरपश्चिमका ती तिन सहकारीसमेत देशभरका ७० वटा सहकारी संस्थालाई कारबाही गर्ने जनाएको हो।कर्णाली प्रदेशका २८ सहकारी रहेका जनाइएको छ । यसैगरी, कोशी प्रदेशका १४, मधेस प्रदेशका ११, बागमतीका १०, लुम्बिनीका चार तथा सुदूरपश्चिम प्रदेशका तीन सहकारी छन् । सात प्रदेशमध्ये गण्डकीमा सञ्चालनमा रहेका सहकारी यो सूचीमा परेका छैनन् । थोक कर्जा तिर्न बाँकी सहकारीमध्ये रकम बुझाइ हिसाब मिलान गर्न बाँकी भएमा कोषको सचिवालयमा आवश्यक भौचरसहित हिसाब मिलान गर्न पनि कोषले अनुरोध गरेको छ।सुची हेर्नुहोस् ।


