धनगढी। सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् विस्तार शुक्रवार हुन नसकेपछि आज शनिवार गर्ने तयारी छ। सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले सहमति जुटाउन समय मागेपछि शुक्रवार हुने भनिएको सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् विस्तारको काम अन्तिम समयमा रोकिएको हो ।
मुख्यमन्त्री कमलबहादुर शाहका प्रमुख स्वकीय सचिव धीरेन्द्र शाहीले नागरिक उन्मुक्ति पार्टीले शनिवारसम्म समय मागेकाले शुक्रवार मन्त्रिपरिषद् विस्तारको काम रोकिएको बताए । उनले नागरिक उन्मुक्तिले शनिवार बिहान १० बजेसम्मको समय मागेको बताएका थिए। तर अहिलेसम्म कुनै निर्णय भैसकेको भने छैन्। उन्मुक्तिको निर्णयपछि मन्त्रिपरिषद् विस्तार हुनसक्ने बताइएको छ ।
शाहीले विस्तार हुन लागेको मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट शिवराज भट्ट वा पृथ्वीबहादुर सिंहमध्ये १ जना र नेकपा माओवादी केन्द्रबाट रमेशसिंह धामी र झपटबहादुर बोहराको नाम आएको बताए । माओवादी केन्द्रकै गीतादेवी मालको नाम राज्यमन्त्रीका लागि आएको छ। नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बन्नेको नाम आउन बाँकी छ । सुदूरपश्चिम प्रदेश सभा बैठक आज दिउसो २ बजेका लागि आह्वान गरिएको छ । दिउसो २ बजे बस्ने बैठकको कार्यसूची तयार गर्न ११ बजे सर्वदलीय बैठक बस्ने भएको छ ।
यसअघि शुक्रवार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी गराएका थिए । प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टी संसदीय दलका प्रमुख सचेतक खुशीराम चौधरीले पार्टीभित्रको आन्तरिक छलफल र सत्ता गठबन्धन दलसँगको छलफल समेत टुंगिन बाँकी रहेको बताए । आफूहरूले २ मन्त्रालय मागेको उनले बताए ।गत मंसिरको निर्वाचनको नतिजासँगै राजनीतिक समीकरणमा भएको फेरबदलले प्रदेश सभामा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलको नेतृत्वमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी सम्मिलित प्रदेश सरकार गठन भएको थियो ।
संविधानबमोजिम १ महिनाभित्र विश्वासको मत पाउन नसकेपछि रावल मुख्यमन्त्रीबाट पदमुक्त भएका थिए ।सरकार गठन गर्दा सहयोग गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत लिने समयमा भने असहयोग गर्दा रावल पदमुक्त भएका थिए ।त्यसपछि प्रदेश सभामा सबैभन्दा ठूलो दलको हैसियतमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।फेरिएको राजनीतिक समीकरणसँगै शाहलाई नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादीको समर्थन छ। संविधानबमोजिम १ महिनाभित्र प्रदेशसभाबाट उनले सजिलैसँग विश्वासको मत पाएका थिए । मुख्यमन्त्री शाहको नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयबाहेक अन्य मन्त्रालय नेतृत्वविहीन छन् । कांग्रेसका युवा नेता समेत रहेका प्रकाशबहादुर देउवाले भौतिक पूर्वाधार विकास मन्त्रालय र नेकपा एकीकृत समाजवादीका युवा नेता नरेशकुमार शाहीले आर्थिक मामिला मन्त्रालय सम्हाल्दै आएका छन्।


