कैलाली। कैलालीमा घोडासवारीबाट घोडाघोडीताल क्षेत्रको अवलोकन गर्न सकिने भएको छ। कैलालीको घोडाघोडी तालमा घोडामा सवार भएर ताल क्षेत्रको अवलोकन गर्न घोडाको व्यवस्था गरिएको हो।
जैविक विविधताले महत्वपूर्ण रहेको कैलालीको घोडाघोडी ताल क्षेत्रमा घोडाबाट पर्यटकलाई तालको दृश्यावलोकन गराउने उद्देश्य रहेको छ। घोडाघोडी क्षेत्रमा पर्यटकको थप आकर्षण बढ्ने बिश्वास लिइएको छ ।घोडाघोडी नगरपालिका-१ घोडाघोडी गाउँका स्थानीय धनबहादुर शाहीले आफ्नो पुर्खौली जिल्ला कालीकोटबाट दुई वटा घोडा ल्याएका हुन्। उनले घोडाघोडीमा आउने आन्तरिक तथा वाह्य पर्यटकलाई घोडाघोडी ताल घुम्ने सुविधा मिलाएका हुन्।
उनले विश्व रामसार सूचिमा सूचीकृत भएर देश विदेशमा नाम कमाएको घोडाघोडी तालमा घोडाबाट पर्यटकलाई तालको दृश्यावलोकन गराउने उद्देश्यले दुई लाख भन्दा बढी खर्चेर घोडा ल्याएको बताए ।गत फागुनदेखि घोडाबाट घोडाघोडीमा ताल क्षेत्रमा सवार चलाउन थालिएको बताए। एकपछि अर्को घोडा थपेका शाहीले यसरी घोडाबाट ताल क्षेत्रमा सवार गरीने कार्य कैलालीमा नयाँ भएको बताए । उनले भने, “नयाँ युवायुवती टिकटक र फोटो खिचाउनका लागि एकछिन घोडामा चढेपनि घोडा सवारमा खासै रुचि भने राखेको देखिँदैन, उनले भने।बाहिर जिल्लाबाट आउने पाका उमेरका मानिसहरू बढी घोडा चढ्न रुचाउँछन्” शाहीले खुसी हुँदै भने, “कोही कोही त खुसी हुँदै तोकिएको शुल्कभन्दा बढी रुपियाँ पनि दिनुहुन्छ, एकजना सेवा निवृत्त कर्मचारीले त दुई सय घोडा सवार शुल्क थियो एकहजार दिएर जानुभयो।” धनबहादुरलाई घोडा सवार कार्यमा उनका फुपूका छोरा विनोदकुमार शाहीले साथ दिएका छन् । धेरै भीड भएका बेला दुवै जनाले पालैपालो गरेर घोडासवार गराउछन् । भीड नहुँदा एक्लैले पनि सवार गराउन सकिने विनोद बताउँछन्।
तालको चारैतिर बाटो नबनेकोले अहिले तालको अगाडिपट्टी बनेको करिब दुई किलोमिटर बाटोमा घोडासवार गराइन्छ। सुरुसुरुमा प्रचारप्रसार पनि नभएकोले थाहा पाएर आउने जति घोडाघोडीमा वास्तविक घोडा चढ्न पाउँदा खुसी व्यक्त गरेको विनोदले बताए । घोडा सवारबाट तालको अवलोकन गर्न पाउँदा फरक खालको रमाइलो लागेको आन्तरिक पर्यटक बताउँछन्। घोडाको सवारीबाट घोडाघोडीताल क्षेत्रको अवलोकनले आन्तरिक तथा बाह्य पर्यटक बढ्ने अपेक्षा लिइएको छ ।