धनगढी। सुदूरपश्चिम प्रदेश सभा सदस्यहरुले पारिश्रमिकसहित सेवा–सुविधा बुझेका छन्। ५३ जना प्रदेश सभा सदस्य रहेको सभामा सेवा सुविधा सम्बन्धी ऐन अनुसार करिब ४ महिना अवधिको पारिश्रमिकसहित सेवा–सुविधा बुझेका हुन्।
प्रदेश सभा सचिवालयले उनीहरुलाई पारिश्रमिकसहित सञ्चार, आवास, निजी सचिवालय बन्दोबस्त, बिजुली–धारा र अतिथि सत्कार शिर्षकमा रकम जम्मा गर्ने गरेको छ। सचिवालयले उनीहरुको खातामा पारिश्रमिकसहित सेवा–सुविधा जम्मा गर्ने गरेको छ। पुस महिनामा ३० हजार १ सय ३३ रुपैयाँका दरले पारिश्रमिक पाएका प्रदेश सभाका सदस्यहरुले एक महिनामा ५६ हजार पाँच सय रुपैयाँ पारिश्रमिक पाउने गरेका छन्।
प्रदेश सभा सचिवालयका अनुसार पुस १५ गतेदेखि चैतसम्म उनीहरुका लागि २ करोड १२ लाख ६६ हजार पाँच सय ७७ रुपैयाँ खर्च भएको छ। साढे ३ महिनामा प्रदेश सभा सदस्यहरुले सो रकम बुझेका हुन् । प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएपछि पुस महिनामा १५ लाख ५७ हजार ६७ रुपैयाँ ५३ वटा प्रदेश सभा सदस्यहरुले पारिश्रमिक बापत बुझेका थिए । प्रदेश सभा सचिवालयको तथ्याँक अनुसार उनीहरुले सञ्चार शिर्षकमा १ हजार ६ सयका दरले ८४ हजार ८ सय, आवास शिर्षकमा नौ हजार ६७ का दरले ४ लाख ५३ हजार तीन सय ३३, बिजुली–पानी शिर्षकमा १ हजार ६७ का दरले ६५ हजार पाँच सय ३३ र अतिथि सत्कारमा तीन हजार सात सय ३३ का दरले एक लाख ९७ हजार ८ सय ६७ रुपैयाँ बुझेका थिए।
माघ महिनामा ५६ हजार ५ सयका दरले पारिश्रमिक बुझेका उनीहरुले सो महिनामा २७ लाख ८२ हजार रुपैयाँ पारिश्रमिक, सञ्चार शिर्षकमा १ लाख ४७ हजार, आवास सुविधामा ७ लाख ६८ हजार, निजी सचिवालयमा पाँच सय ५०, बिजुली धारामा ९२ हजार र अतिथि सत्कारमा ३ लाख ५१ हजार रकम बुझेका छन्।फागुनमा पारिश्रमिक बाफतको २८ लाख ३८ हजार पाँच सय, सञ्चारमा १ लाख ५० हजार, आवासमा सात लाख ८५ हजार, बिजुली धारामा ९४ हजार र अतिथि सत्कारमा तीन लाख ५८ हजार प्रदेश सभा सदस्यहरुले बुझेका छन्।
उनीहरुले चैतमा पारिश्रमिक बाफतको २८ लाख ३८ हजार पाँच सय, सञ्चारमा एक लाख ५० हजार, आवाश सुविधामा सात लाख ८५ हजार, बिजुली पानीमा ९४ हजार र अतिथि सत्कार शिर्षकमा ३ लाख ५६ हजार पाँच सय बुझेका छन्।यस्तै प्रदेश सभा सदस्यका स्वकीय सचिवहरुले मात्र पुस १६ गते देखि चैतसम्म ६२ लाख ७० हजार नौ सय ७७ रुपैयाँ बुझेका छन्। चैत देखी हाल दुई महिनासम्म सदन नचल्दा प्रदेश सभा ठप्प बनेको छ । उनीहरुले सो समयावधीको सेवा सुबिधा उपलब्ध नगराएको प्रदेश सभा सचिवालयले जनाएको छ ।