कञ्चनपुर। कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईको सीमापारि फेरि बाघ देखिएको छ। बेलौरी नगरपालिका–८ पचुईस्थीत जोडिएको भारतीय गाउँ राघापुरीमा बाघ देखिएपछि दुबै देशका स्थानीय त्रसित बनेका छन् ।
डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख दिनेश कुमार यादवले बेलौरी नपा. बडा न ८ पिलर न ३८ को अन्दाजी ५०० मिटर दक्षिणतर्फ भारतीय भु–भागमा अहिले बाघ, चितुवा,चितल देखिएको बताए। उनले सचेत रहन स्थानियलाई आग्रह गरेका छन् ।पचुईस्थित भारतीय गाउँ राघापुरीमा बाघ देखिएको हो।
पचुई बस्ने ३५ वर्षीया मिच्चु राना आइतबार दिउँसो ३८ नम्बर स्तम्भ नजिक घाँस काटन गएको समयमा बाघ गर्जेको सुनेर भाग्दै भारतीय गाउँ टिल्ला नम्बर ४ को सीमा सुरक्षा बल (एसएसबी) को बीओपी मातहतको फरवार्ड पोष्ट पुगेकी थिइन्। एसएसबीले महिलाले भनेको ठाउँमा बाघ देखिएको हुदा सतर्क रहन नेपाली प्रशासनलाई पनि अनुरोध गरेको बताएको छ। अहिले बाघ देखिएको सो क्षेत्रमा भारतीय बन टोली, प्रहरी, एसएसबी लगायत स्थानीयहरुले खोजि गरिरहेको छन्।
उक्त बाघ नेपालतर्फ आउन सक्ने सम्भावना रहेकाले नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगै जनप्रतिनिधि र स्थानीय पनि गस्ती गरिरहेको बताइएको छ। केही दिन यसअघि पचुईकी ४२ वर्षीया गंगादेवी चन्द खप्टिनाला क्षेत्रमा घास काटन गएको बेला बाघले आक्रमण गरी उनको ज्यान लिएको थियो। उक्त पोथी बाघलाई नियन्त्रणमा लिएर ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा पठाइएको छ। यस्तै आज देखीएको बाघ भाले हुनसक्ने स्थानियले आशंका गरेका छन् ।


