कञ्चनपुर। परराष्ट्रमन्त्री नारायणप्रकाश साउँदले विकासका लागि राजनीति गरिएकाले पार्टीको हित मात्रै नभई साझा रुपमा अघि बढ्नुपर्ने बताएका छन् । परराष्ट्रमन्त्री बनेपछि आज पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र पुगेका उनले सो कुरा बताएका हुन् ।
परराष्ट्रमन्त्री साउँदले कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मालुबेलामा आयोजना गरिएको ग्वासी समैजी समितिको साधारणसभामा विकास एउटा पार्टी, एउटा व्यक्तिको भन्दा पनि सबैको हातेमालोबाट हुने बताए ।‘विकासका लागि सबै पार्टी एक ठाउँमा आउनुपर्छ’, मन्त्री साउदले भने, ‘अहिले दश पार्टी मिलेर सरकार बनाएकाँ छौँ, विकासको काममा प्रतिपक्षी पार्टीले पनि दलीय स्वार्थ हेर्नु हँुदैन ।’ उनले गेटामा दशरथ चन्द चिकित्सा विश्वविद्यालय खुलाउने कामसरकारले अघि बढाएको बताए ।
‘सरकारले त्यसका लागि विश्वविद्यालय ऐन बनाउन कमिटी बनाउने कुरो अगाडि भएको छ’, उनले भने, ‘यो अस्पताल प्रतिष्ठान मात्र नभई यहाँको पहिलो चिकित्सा विश्वविद्यालय हुनेछ ।’उनले निर्वाचन क्षेत्रको सडक पूर्वाधार निर्माण, मोहना नदी तटबन्ध निर्माण लगायतका काममा आफू सक्रिय भएर लागेको बताए । साथै सुदूरपश्चिमको धार्मिक पर्यटनको विकासका लागि एउटा सर्किट निर्माणको गृहकार्य भइरहेको उनको भनाइ थियो ।
परराष्ट्रमन्त्री साउद गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुर क्षेत्र नं–२ बाट निर्वाचित भएका थिए। मन्त्री नियुक्त भएपछि गृह जिल्ला आउन लागेका साउदले पहिलो कार्यक्रम पनि आफ्नै निर्वाचन क्षेत्रमा राखेका हुन। साधारणसभा सम्पन्न भएपछि उनी महेन्द्रनगरस्थित कांग्रेस पार्टी कार्यालयमा आउने छन्। साँझ महेन्द्रनगरमै बास बसेर साउद आइतबार बिहान शुक्लाफाँटाको झलारीमा आफ्नो निर्वाचन क्षेत्रका अगुवा कार्यकर्तासँग भेट गर्ने कार्यक्रम छ। अढाई बजे धनगढीमा कैलालीका कांग्रेस कार्यकर्तासँग भेटघाट गरी राजधानी फर्किने छन्। साउद ३ बैशाखमा परराष्ट्रमन्त्री नियुक्त भएका थिए। उनी यसअघि २०७० मा सिंचाईमन्त्री र २०५६ मा शिक्षा राज्यमन्त्री बनेका थिए।


