कञ्चनपुर। कैलाली, कञ्चनपुरका किसानलाई गहुँ भित्र्याउन भ्याईनभ्याई भएको छ । खेतमा लगाएको हिउँदे बाली गहुँ पाकिसेकेकोले किसानलाई काट्न र भित्र्याउन भ्याईनभ्याई भएको हो ।
काटिएको गहुँबाली कतै थ्रेसिङ गर्न तयारी भइरहेको छ भने थ्रेसिङ गरिसकेको गहुँ भित्र्याउने चटारो चलेको छ । फागुन अन्तिम साता र चैत पहिलो साता भएको वर्षाले यस पटक गहुँ भित्र्याउने समय केही ढिलो भएको हो । तर कृषकलाई चैत मध्यदेखि नै सुरु भएको गहुँ बाली काट्ने र भित्र्याउने काम यतिबेला अझै जारी रहेको छ ।
यस्तै कैलालीमा पनी यतिबेला कृषकहरूलाई भ्याइनभ्याइ छ । कतिपय गहुँ भित्र्याउने र चैते धान लगाउने काम सँगसँगै गरिरहेका छन् । किसानहरुले गहुँको उत्पादन संंँगै मसुरो उत्पादन गर्ने गरेका छन् । कृषकहरू गहुँसँगै मसुरो भित्र्याउने चटारोमा लागेका छन् ।
कैलालीको टिकापुरका किसान जितबहादुर चौधरीले अहिले बढ्दै गइरहेको गर्मीमा गहुँ भित्र्याउन भ्याइनभ्याइ भएको बताए। उनले यसपाली समयमै वर्षा नभएकाले विगतभन्दा केही ढिलोगरी गहुँ ढिला पाकेको बताए । गहुँ काटेर थे्रसिङमा महङ्गो मूल्य तिर्नूपरेको उनको भनाई छ ।
उता कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ का कृषक प्रकाश जोशीले थ्रेसिङका लागि प्रतिघण्टा ३ हजारदेखि साढे ३ हजारसम्म लिइरहेको उनले बताए ।
गत वर्ष प्रतिघण्टा १८ सय रहेकोमा अहिले एक्कासि २ हजार हाराहारी वृद्धि भएको छ । यस्तै भीमदत्त–१० तिलकेनीका कृषक जगन्नाथ पन्तले गहुँ भित्र्याएर भण्डारण गरिरहेको बताए । दुई बिघामा गहुँ खेती गरेका उनले गत वर्षभन्दा यसपालि गहुँ उत्पादन राम्रो भएको बताए । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार हालसम्म ३५ देखि ४० प्रतिशतसम्म गहुँ भित्र्याइसकिएको छ ।
पूर्ण रूपमा गहुँ भित्र्याउन दुई हप्तासम्म अझै लाग्न सक्ने बताइएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त प्रमुख हरिदत्त जोशीले यस वर्ष गहुँको उत्पादन बढ्ने अनुमान गरिएको बताए । जोशीका अनुसार यस वर्ष गहुँको उत्पादन ३ देखि साढे ३ मेट्रिक टन प्रतिहेक्टरसम्म हुने अनुमान गरिएको छ । समयमै सिँचाइ, मलखादको उपलब्धता र उन्नत जातको बिउको प्रयोग आदि कारणले उत्पादन बढ्ने अनुमान गरिएको उनले बताए । गत वर्ष जिल्लामा गहुँको उत्पादन ३ मेट्रिक टन प्रतिहेक्टर रहेको थियो ।
ज्ञान केन्द्रका अनुसार यस वर्ष ३१ हजार २ सय १० हेक्टरमा गहुँ खेती गरिएको छ । कृषकलाई गहुँ भित्र्याउने चटारो भए पनि थ्रेसिङमा भने ट्र्याक्टर व्यवसायीहरूको मनपरी रहेको किसानहरुको भनाई छ । थ्रेसिङका लागि प्रतिघण्टा ३ हजारदेखि साढे ३ हजारसम्म लिइरहेको किसानहरु बताएका छन् । गत वर्ष प्रतिघण्टा १८ सय रहेकोमा अहिले एक्कासि २ हजार हाराहारी वृद्धि भएको छ । किसान कृष्ण पन्तले गहुँको थ्रेसिङ निकै महँगो भयो, ट्र्याक्टर व्यवसायीको मनपरी नै चलिरहेको बताए ।
एकै व्यवसायीले कतै २८ सय लिइरहेको छ, कतै ३ हजार ३५ सय लिइरहेको बताए । डिजेलको मूल्य वृद्धि भएको बहानामा व्यवसायीहरूले थ्रेसिङ गरेको मूल्य मनपरी ढंगले निर्धारण गरेको उनले बताए । केही स्थानीय तहले थ्रेसिङका लागि मूल्य निर्धारण गरे पनि अधिकांशले भने यसतर्फ चाँसो दिएका छैनन् । शुक्लाफाँटा र वेदकोट नगरपालिकाले थ्रेसिङका लागि प्रतिघण्टा २५ सय निर्धारण गरेको छ । अन्य पालिकाले भने यसतर्फ चासो नदिएको किसानको भनाई छ ।