कैलाली । कैलालीको मालाखेती अस्पतालमा बच्चा सहित सुत्केरी महिलाको मृत्यु भएको घटनामा छानविन समिति गठन गर्ने सहमती भएको छ । कैलालीको गोदावरी नगरपालिका वडा नं. ३ मा रहेको अस्पतालमा आईतबार बिहान सुत्केरीका लागी आएकी गोदावरी नगरपालिका वडा नं. २ कडायत टोलकी २८ वर्षिया लक्ष्मी भट्टराई को बच्चासहित मृत्यु भएको थियो।
अस्पतालमा डाक्टरहरुको लापरबाहीका कारण सुत्केरी र बच्चाको मृत्यु भएको भन्दै स्थानियहरुले विरोध गरेका थिए। सोमबार अस्पताल परिषरमा पिडित पक्षले नाराबाजी गर्दै क्षतिपुर्तिको माग गरेका थिए । स्थानियहरुले सोमबार बिहानदेखी अस्पतालको सेवा समेत ठप्प पारेका थिए । आफन्तले घटनामा संलग्न चिकित्सक र अन्य स्वास्थ्यकर्मीलाई हिरासतमा राखेर छानबिन हुनुपर्ने माग राखेपछि अस्पतालका मेसु अन्वेश कोइराला र स्टाफ नर्स यशोदा ढकाललाई सोधपुछका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा ल्याइएको थियो ।
बच्चा सहित सुत्केरी महिलाको मृत्यु भएको घटनामा छानविन समिति गठन गर्ने सहमती भएको हो। सोमबार राती ईलाका प्रहरी कार्यालय मालखेतीमा बसेको अस्पताल प्रशासन, नगरप्रमुख तथा पिडित पक्षबिचको छलफलमा प्रमुख जिल्ला अधिकारीको रहोबरमा छानविन समिति गठन गर्ने र पिडित पक्षलाई क्षतिपुर्ति दिने सहमंती भएको हो ।
छलफलमा छानविन समिति गठन गरेर निष्पक्ष छानविन गरिनुपर्ने सहमती भएको स्थानिय आशिष भट्टराईले बताए । उनले छानविन समितिको निष्कर्ष पश्चात दोषि देखिएका ब्यक्तिहरुलाई कडा कारबाही गरिने र दोषी मार्फत नै क्षतिपुर्ति प्रदान गरिने सहमती भएको उनले बताए। उनका अनुसार तत्काल पिडित पक्षलाई क्रियाखर्च वाफत नगद रु. ५० हजार प्रदान गरिने भएको छ । त्यतिमात्रै नभई शवलाई पोष्टमार्टमका लागी धनगढी पठाईएको र पोष्टमार्टम रिर्पोटबाट पनि घटनाको बारेमा धेरै कुरा जानकारी आउने भट्टराईले बताए । तर छलफलमा सहमती भएपश्चात मंगलबार देखी अस्पतालको सेवा सुचारु गर्ने निर्णय भएको बताईएको छ ।