कैलाली। कैलाली कञ्चनपुरमा रेबिज रोगको संक्रमण भयावह बन्न थालेको छ। पशुपन्छी रोग अन्वेषण प्रयोगशाला प्रदेश कार्यालय धनगढीका अनुसार पछिल्लो एक/डेढ महिना यता पशुपन्छीमा रेबिज तीप्र रूपमा देखिन थालेको हो भने रेबिजका कारण मर्ने पशु चौपायाको संख्या समेत बढ्न थालेको छ।
कैलालीको गौरिगंगा र धनगढीमा रेबिज संक्रमण भएका पशु चौपाया भेटिएका छन्। पशुपन्छी रोग अन्वेषण प्रयोगशाला प्रदेश कार्यालय धनगढीका प्रमुख डा.नरेश जोशीले कञ्चनपुरमा यसको संक्रमण उच्च रूपमा देखिएको बताए । रेबिजका कारण पशु मर्नेक्रम पनि कञ्चनपुरमै उच्च रहेको छ।
उनका अनुसार हालसम्म कञ्चनपुरको पुनर्वास नगरपालिका–१ मा एटा भैसी, एक बाख्रा, शुक्लाफाँटा नगरपालिकामा एउटा कुकुर, भीमदत्त नगरपालिकाका विभिन्न वडामा कुकुर, बाख्रा, गाईको बाच्छो, गाई, लालझाडी गाउँपालिकामा कुकुर लगायत धेरै पशुपन्छी रेबिज रोगका कारण मरेको पुष्टि भएको छ। ‘कार्यालयमा रेबिजका कारण पशु चौपाया मरेको थोरैमात्रै तथ्याङ्क आएको छ,’ जोशीले भने, ‘तर पछिल्लो एक डेढ महिना यता रेबिजका कारण मात्रै ५ सय भन्दा बढी पशु चौपाया मरेको हाम्रो आकलन रहेको छ ।’
यता कैलालीको धनगढी र गौरिगंगाको एउटा–एउटा बाख्रामा पनि रेबिज रोग पुष्टि भएको प्रयोगशाला प्रमुख जोशीले बताए । उनले पशु चौपायामा रोगको संक्रमण देखिएपछि त्यसको कुनै औषधि नभएको समेत बताए । ‘रोग नियन्त्रण गर्ने एउटै उपाय रोग लाग्न पूर्व नै पशु चौपायामा रेबिजविरुद्धको खोप लगाउनु हो,’ प्रयोगशाला प्रमुख जोशीले भने, ‘रोग लागिसकेपछि त्यसलाई निको पार्ने कुनै औषधि अहिलेसम्म पत्ता लागेको छैन, रोग लागेको चौपाया मरिहाल्छ ।’उनले रेबिजको संक्रमण बढ्न थालेपछि पछिल्लो समय २४औं घण्टा प्रयोशालामा रोगको परीक्षण हुने गरेको बताए । ‘श्रोतसाधन न्यून हुँदा पनि कर्मचारी जिम्मेवारीपूर्ण तरिकाले काम गरिरहनुभएको छ,’ उनले भने, ‘अहिले २४औं घण्टा प्रयोगशालामा हामी काम गरिरहेका छौं, अत्यावश्यक सेवाका लागि पशु एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको छ ।
रोग लाग्न नदिन के गर्ने ? पशुपन्छीमा रेबिज रोग लाग्न नदिन खोप लगाउनु एक मात्र विकल्प भएको पशुपन्छी अन्वेषण प्रयोगशाला प्रदेश कार्यालय धनगढीका प्रमुख डा.नरेश जोशीको भनाइ छ । ‘रोग लागिसेपछि यसको औषधि अहिलेसम्म पत्ता लागेको छैन,’ जोशीले भने, ‘त्यसलै सबैले आफ्ना पशु चौपायामा रेबिजविरुद्धको खोप लगाउनु अपरिहार्य छ ।’ रेबिज रोग खास गरी स्याल र संक्रमित कुकुरको टोकाइबाट सर्ने गर्दछ। त्यसैल सबैले आफ्नो घरमा पालेका कुकुरलाई रेबिजविरुद्धको खोप अनिवार्य लगाउन उनले सुझाव दिएका छन्।
त्यसैगरी सडकमा रहेका सामुदायिक कुकुरमा पनि खोप लगाउनु अनिवार्य भएको डा. जोशीको भनाइ छ ।‘कुकुर वा स्यालले पशु चौपायालाई टोकेको खण्डमा तत्काल ती पशुमा खोप लगाउन उनले सुझाव दिएका छन् । कुकुर वा स्यालले टोक्दा ¥यालमा रेबिजको किटाणु देखिएको अवस्थामा पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले निःशुल्क खोप लगाउने कार्यक्रम रहेको उने बताए। त्यसैले पशुपन्छीलाई कुकुर वा स्यालले टोकेको खण्डमा तत्काल पशुपन्छी रोग अन्वेषण कार्यालयमा खबर गर्न उनले अनुरोध समेत गरेका छन् ।अहिले गोठमै पशुमा रोग भए/नभएको पत्ता लगाउने प्रविधि भित्रिएको छ,’ उनले भने, ‘त्यसैले पहिला जस्तो रेबिज पत्ता लगाउन प्रयोगशालामै आउनुपर्ने अवस्था छैन, त्यसैले किसानले पशुपन्छीमा रेबिज जस्तो लक्षण देखिएको खण्डमा तत्काल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला वा स्थानीय पालिकाको पशु शाखामा जानकारी गराउन अनुरोध छ ।
के हो रेबिज, कसरी सर्छ ?-सुरुमा जनावरको ¥यालमा रहेका भाइरस जनावरको टोकाइबाट घाउमा पुग्छ । यो भाइरस रगत र लिम्फबाट नभइ छालामुनिको भित्री तन्तु र मांसपेशी हुँदै परिधीय स्नायु, मेरुदण्ड र अन्त्यमा गिदीसम्म पुग्दछ । दिमागको गिदीमा सङ्क्रमण भएपछि मात्र विशेष लक्षणहरू देखिन्छन् । अन्त्यमा गिदीका मसिना स्नायुबाट भाइरस ¥याल ग्रन्थी, छाला, आँखाको कोर्निया र अन्य अङ्गमा पुग्दछ । यस्ता सङ्क्रमित जनावरले टोक्दा ¥याल ग्रन्थिमा भएको भाइरस फेरि अर्काे जनावरको शरीरमा प्रवेश गर्छ । रेबिज एक किसिमको भाइरसले लाग्ने रोग हो । रेबिज लागेको कुकुर, स्याल वा अन्य जनावरमा रेबिज भाइरस हुन्छ । कुकुर, स्याल, चमेरो, बिरालोलगायत तातो रगत हुने र स्तनधारी जनावरबाट रेबिज भाइरस सर्ने गर्छ । त्यस्ता जनावरले टोकेपछि घाउका माध्यमबाट रेबिज भाइरस शरीरमा प्रवेश गर्छ । जसले गर्दा मानिसमा रेबिज रोग लाग्छ ।
लक्षण– रेबिज लागेमा ज्वरो आउने, झमझमाउने, टोकेको ठाउँमा अत्यधिक दुख्ने हुन्छ । त्यस्तै पानी, हावादेखि डराउने, चिटचिटाहट हुने, रिसाउने जस्ता समस्या पनि देखिन्छ । रेबिजका कारण आँखा, नाक, मुख र शरीरमा घाउ हुने गर्दछ । यसबाट अरू मानिसमा पनि सर्न सक्छ । रेबिजका बिरामीले पानी पिउँदा घाँटीमा दुख्ने गर्छ । रेबिजले स्नायु प्रणालीसँगै श्वासप्रश्वासमा पनि बाधा उत्पन्न गर्न थाल्छ । रेबिजका कारण हृदयाघात र मृत्यु पनि हुन सक्छ ।त्यसैगरी पशु चौपायामा बौलाउने, झोक्राउने, ¥याल चुहाउने जस्ता लक्षण देखिएमा रेबिज रोग हुन सक्छ । त्यस्तो लक्षण देखिएका मानिस वा पशुलाई छुट्टै स्थानमा राख्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।
प्रदेश भर एउटै प्रयोगशाला, बजेट छैन- पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुदूरपश्चिममा एउटा मात्रै रहेको छ। जसका कारण सुदूरपश्चिमका ७ वटा पहाडी जिल्ला प्रयोगशालाको सेवा लग्न पाउँदैनन् । धनगढीमा रहेको प्रयोगशालाले कैलाली, कञ्चनपुरमा अहिले जसोतसो सेवा दिँदै आएको छ। कार्यालयमा हाल तीन पशु विशेषज्ञ डाक्टर प्राविधिक कर्मचारी कार्यरत रहेका छन्। अत्यावश्यक सेवाका लागि प्रयोगशालामा पशु एम्बुलेन्सको समेत व्यवस्था गरिएको छ । तर, बजेट अभावका कारण भने काम गर्न सकस भइरहेको प्रयोगशालाका प्रमुख जोशी बताउँछन्। ‘संघीय सरकारले अहिले सबै योजना तथा कार्यक्रमको बजेट कटौती गरेको छ,’ कार्यालय प्रमुख डा. जोशीले भने, ‘जसका कारण श्रोतसाधनको समस्या हुन थालेको छ, अहिलेसम्म जसोतसो काम गरिरहेका छौं, आगामी दिनमा के हुन्छ भन्न सकिँदैन।’ अहिले पनि कतिपय अवस्थामा कर्मचारीले आफ्नो व्यक्तिगत खर्च व्यहोरेर फिल्डमा जानुपर्ने अवस्था रहेको उनले बताए ।इकागजबाट