काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बालिका बलात्कारको मुद्दामा पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।
पीडितको स्वास्थ्य जाँच गर्ने डाक्टरको सट्टा अर्को चिकित्सकलाई पठाएर बकपत्र गराएको खुलेपछि आइतबार न्यायाधीश शंकरराज बरालको इजलासले ‘स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई नै झिकाउनू’भनी आदेश गरेको हो ।यसका साथै अदालतले सरकारी साक्षीहरु साहब आलम र अनिष श्रेष्ठलाई समेत झिकाउन आदेश दिएको लामिछानेका कानुन व्यवसायी मुरारी सापकोटाले जानकारी दिए ।
सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीको मुद्दामा धरौटीमा छोड्ने उच्च अदालत पाटनको निर्णय सदरसहित झन् खुकुलो बनाइदिएको थियो । उच्च अदातलले उनलाई विदेश जान लगाएको रोक सर्वोच्चले फुकुवा गरिदिएको थियो। उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो। त्यस्तै विदेश जान पाउनुपर्ने माग गर्दै लामिछानेले पनि सर्वोच्चमा निवेदन दिएका थिए। दुवै निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सोमबार लामिछानेलाई विदेश जान पाउने अनुमति दिएको हो । सर्वोच्च अदालतको फैसलामा विदेश गएको अवस्थामा फर्केको १५ दिनभित्र जिल्ला अदालत काठमाडौंमा जानकारी दिनू भनिएको छ ।
उच्च अदालत पाटनले पुस २८ मा लामिछानेलाई २० लाख धरौटीमा छोड्ने आदेश दिएको थियो। साथै, उच्च अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म विदेश जान नपाउने, मुद्दा, पीडित किशोरी र उनको परिवारका सदस्यबारे सञ्चारमाध्यम वा सामाजिक सञ्जालमा टिप्पणी गर्न वा धारणा राख्न नपाउने, पीडित किशोरीसँग उनका वकिललाई भेट्न र प्रभावमा पार्न नपाउने र लिखित जानकारी नदिई काठमाडौं उपत्यका छोड्न नपाउने आदेश दिएको थियो ।सर्वोच्च अदालतले काठमाडौं जिल्ला अदालतलाई यो मुद्दाको किनारा छिटो लगाउन पनि आदेश दिएको छ। सर्वोच्चको फैसलामा भनिएको छ, प्रस्तुत मुद्दा जबरजस्ती करणीको अभियुक्त भएको र प्रतिवादी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेलाडी भई सार्वजनिक चासोको विषय भएकोले फास्ट ट्रयाकबाट निरन्तर सुनुवाइका प्रक्रिया पूरा गरी छिटो कारबाही गर्नु भनी काठमाडौं जिल्ला अदालतलाई जानकारी दिई नियमअनुसार गर्नू ।


