कञ्चनपुर। सुदूरपश्चिम विश्व विद्यालयमा अध्ययनरत १७९ जना दीक्षित भएका छन्। विश्वविद्यालय आइतबार आयोजना गरेको तेस्रो दीक्षान्त समारोहकाबीच १७९ जना दीक्षित भएका हुन् । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)बाट दीक्षित भएका छन् ।
गत असारमा दोस्रो दीक्षान्त गरेको विश्वविद्यालयले एक वर्षमै दोस्रो पटक विद्यार्थीलाई दीक्षित गरेको हो। २०६८ मा स्थापना भएको विश्वविद्यालयले २०७१ देखि शैक्षिक कार्यक्रमहरू अघि बढाएको छ । पहिलो पटक २०७४ मा दीक्षान्त समारोह आयोजना गरेको विश्वविद्यालयले कोरोना संक्रमणलगायत कारणले ५ वर्षपछि असारमा दोस्रो पटक विद्यार्थीलाई दीक्षित गरेको थियो। स्नातक र स्नातकोत्तर तहमा ८५५ विद्यार्थीले उत्तीर्ण गरेपनि १७९ ले मात्रै दीक्षित हुनका लागि आवेदन दिएका थिए।परीक्षा नियन्त्रण कार्यालयले आह्वान गरेको समयभित्र थोरै मात्र विद्यार्थीले आवेदन दिएको विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठकले बताए। पुससम्म ट्रान्सक्रिप्ट निकालेका र आवेदन दिएका विद्यार्थी मात्रै दीक्षित हुन पाएको पाठकले जनाए। असारमा पनि १५ सय २३ जनामध्ये २५३ ले मात्रै दीक्षित हुनको लागि आवेदन दिएको बताइएको छ। विश्वविद्यालयको केन्द्रीय र आंगिक गरी १६ क्याम्पसमा करिब १५ हजार विद्यार्थी अध्ययनरत छन्।विश्वविद्यालयले इन्जिनियरिङसँगै कृषि, कानुनलगायतका विषयमा समेत अध्यापन गराउँदै आएको छ।