कञ्चनपुर। भारतमा मजदुरी गरेर घर फर्किरहेका नेपालीबाट भारतीय सुरक्षाकर्मीले १३ लाखभन्दा बढी भारु रकम बरामद गरेको छ । नयाँ वर्ष बिशु मनाउन घर फर्किरहेकाबाट दुई दिनमा उक्त बरामद गरेको हो ।
शुक्रबार हरियाणाबाट घर फर्किरहेका बझाङ दुर्गाथलीका धर्मराज मुरबाट एसएसबीले २ लाख १३ हजार भारु बरामद गरेर भारतीय कस्टमलाई बुझाएको प्रहरीले जनाएको छ । हरियाणामा लामो समयदेखि ढावा चलाउने काम गरिरहेका उनी यसपटक ढाबा बिक्री गरेर घर फर्किरहेका हुन् । ढाबा बिक्री गरेको रकमसहित एसएसबीले बरामद गरेको हो ।
भारतबाट नेपालतर्फ २५ हजारभन्दा बढी भारु ल्याउन लैजान प्रतिबन्ध लगाएको छ । ५ सय र २ हजार भारुको नोट पनि नेपालमा प्रतिबन्ध छ। एसएसबीले सीमामा स्रोत नखुलेको भन्दै घर फर्किने नेपालीहरूको ज्याला मजदुरी गरेर कमाएको रकम बरामद गरिरहेको छ। भारतको विभिन्न ठाउँमा रोजगारी गर्नेले अहिले पनि घर फर्किने सँगै एकमुष्ट रूपमा रकम पठाउने गरेका छन्। जसका कारण एकै व्यक्तिसँग ठूलो रकम देखिने गरेको हो ।
एसएसबीले बिहीबार करिब ११ लाख बढी बरामद गरेको कञ्चनपुरका एसपी कमल थापाले बताए । एसएसबीले सुर्खेतका लोकबहादुर चन्दबाट ८ लाख, कालीकोटका पदम कामीबाट २ लाख र टेकबहादुर कामीबाट १ लाख २७ हजार भारु बरामद गरेको छ । सुर्खेतका चन्दको रकम बरामदको जानकारी प्राप्त भए पनि उनी प्रहरीको सम्पर्कमा नआएको एसपी थापाले बताए । उनका अनुसार पदम र टेकबहादुरले पैसाको स्रोत जुटाउने काम गरिरहेका छन्। उनीहरूले उक्त रकमको स्रोत पेस गरेपछि फिर्ता पाउने छन् ।
उनका अनुसार बैंक स्टेटमेन्ट, तलब बुझेको प्रमाण वा फोन पेको प्रमाणका आधारमा उक्त रकम फिर्ता हुन सक्छ । ‘दुवै जनाका ठेकेदार सम्पर्कमा आएका छन्, ठेकेदारले पैसा दिएको प्रमाण पठाएपछि पैसा पाइन्छ,’ एसपी थापाले भने, ‘एसएसबीसँग यस विषयमा समन्वय भइरहेको छ ।’ भारतबाट २५ हजारभन्दा बढी रकम बोकेर नेपाल प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो पटक सन् २०१४ मा नेपाल भ्रमणमा आउँदा नेपाली कामदारलाई २५ हजार भारुसम्म ल्याउन लैजान दिने घोषणा गरेका थिए । त्यसअघि २५ हजारभन्दा कम भए पनि हजार र पाँच सयका नोट प्रतिबन्धित थियो।
भारतबाट घर फर्किंदा ल्याउन पाउने रकमको सीमाबारे भने नेपाली कामदार बेखबर छन् ।जानकारी अभावकै कारण एक जना घर फर्किंदा गाउँटोलका धेरैको रकम बोकेर आउने गर्छन् । जसका कारण बाटोमै लुटिने तथा हराउने घटनासमेत भइरहन्छन् । ‘नाकामा भारु ओसारपसारमा एसएसबीले केही दिनदेखि कडाइ गरेको छ,’ एसपी थापाले भने, ‘२५ हजारभन्दा बढी बोक्न नपाइने त पहिलेदेखि नै थियो, तर अहिले आएर कडाइ भएको हो ।’कान्तीपुरबाट