धनगढी : सर्वाधिक धनराशी भएको फुटवल प्रतियोगिता मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप धनगढीमा शुरु भएको छ । गोल्डकपको छैटौँ संस्करण धनगढी रंगशालामा शुरु भएको हो । १० टिम सहभागी प्रतियोगितालाई सुदूरपश्चिम सरकारले प्रबद्र्धन गरेको छ । मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप प्रतियोगिताले यस क्षेत्रको खेल संगै आर्थिक बिकासमापनि टेवा पुग्ने अपेक्षा लिइएको छ ।
सर्वाधिक धनराशी सहितको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप धनगढी रगंशालामा शुरु भएको छ । सुदूरपश्चिम ११ स्पोट्स क्लवको आयोजनामा शुरु भएको प्रतियोगिताको बिजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । क्लवका अध्यक्ष सुरेश हमालका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार र म्यान अफ दि म्याचलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा ‘ए’ डिभिजन ६ टीम, दुई विदेशी टिम, मोसलको एक र आयोजक क्लब गरी १० टोलीको सहभागिता रहेको छ ।
प्रतियोगितालाई सुदूरपश्चिम प्रदेश सरकारले प्रबद्र्धन गरेको छ । मुख्यमन्त्री खेलकुद प्रतियोगताका लागी बिनियोजित बजेटबाट यस प्रतियोगितालाई सरकारले ८० लाख रकम सहयोग गरेको छ । प्रदेश खेलकुद परिषद सुदूरपश्चिमका सदस्य सचिव दिपक बहादूर सिहंका अनुसार आफैले आयोजना गर्दा खर्च भार धान्न नसकिने परिस्थितीका कारण क्लवसंग सहकार्य गरेर मुख्यमन्त्री फुटवल प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिताको उद्घाटन सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादूर शाहले गरेका हुन् । शाहले यस प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । यस प्रतियोगिताले यहाँका खेलाडी उत्पादनमा मात्रै नभएर यहाँको समग्र बिकासमा योगदान दिएको भन्दै शाहले प्रशंसा गरे । सुदूरपश्चिम प्रदेश सरकार खेल क्षेत्रको बिकासमा सकारात्मक रहेको बताउँदै उनले यस संगै थप प्रतियोगिता सञ्चालनमा सरकार सहकार्य गर्ने आश्वासन दिए ।
प्रतियोगिताको पहिलो खेलमा बागमती युवा क्लव र ए पि एफ क्लव बिच प्रतिसप्रधा भएको छ । प्रतियोगिता अवलोकनका लागी बिद्यार्थीलाई १ सय र अन्यलाई १ सय ५० टिकट शुल्क राखिएको छ ।