धनगढी। सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशमा ऊर्जाको विकासका लागि भौतिक पूर्वाधार आवश्यक रहेको बताएका छन् । सुदुरपश्चिमको उर्जा बिकास, संभावना र चुनौति सम्बन्धि काठमाण्डौँमा भएको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
स्वतन्त्र ऊर्जा उत्पादक संघ इपान सुदूरपश्चिम समितिले काठमाडौँको दरबारमार्गस्थित पेभेलियन हलमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री कमल शाहले ऊर्जाको विकास गर्ने हो भने सुदूरपश्चिममा भौतिक पूर्वाधारलाई ध्यानमा राख्नुपर्ने आवश्यकता औँल्याए । उनले भने ‘१६५ मेगावाट विद्युत् उत्पादन भइसकेको छ तर ट्रान्समिसन लाइन नभएको कारणले समस्यामा जान सक्छ ।
’प्रदेशमा भएका आयोजनाहरूलाई सरकारी तवरबाट दीर्घकालीन र दिगो रुपमा अगाडि बढाइने र उक्त क्षेत्रमा भएका यातायातको समस्या समेत समाधान गर्ने मुख्यमन्त्री शाहको भनाइ छ । नयाँ भइरहेका परियोजनालाई सहजीकरण गर्दै सरकारले लगानीकर्तासँग छलफल गरेर अगाडि बढ्ने मुख्यमन्त्री शाहले बताए। यस्तै कार्यक्रममा सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री नरेशबहादुर शाही, ऊर्जा उद्यमीलगायतले प्रदेशमा ऊर्जाको विकास सम्भावना र चुनौतीबारे धारणा राखेका थिए । उनीहरुले सुदुरपश्चिम प्रदेशमा उर्जा बिकास र समग्र बिकासलाई प्रदेश सरकारले बिशेष जोड दिएको बताएका छन् । यस्तै प्रतिनिधिसभा सांसद दिलेन्द्रप्रसाद बडू, संचारकर्मी नरेश श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।