धनगढी। नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सबै वामपन्थी घटकहरूलाई एमाले भित्र गोलबन्द हुन अपिल गरेका छन् ।नेकपा एमाले धनगढी उपमहानगरपालिकाले आयोजना गरेको नगर स्तरीय जनसङ्गठनहरूको संयुक्त मिसन ग्रासरुट सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेता भट्टले वामपन्थीलाई एमाले भित्र केन्द्रित हुन अपिल गरेका हुन् ।
उनले त्यसको नेतृत्व भने एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताए । ‘सबै वामपन्थीहरू अब एमाले भित्र केन्द्रित हौँ, त्यसको नेतृत्व केपी शर्मा ओलीले गर्नुहुन्छ’ उनले भने, ‘वामपन्थीहरू सबैको गन्तव्य अब एमाले हो ।’ अघिल्लो निर्वाचनमा एमाले भित्रैका कारणहरूले परिणाम सोचेअनुसार आउन नसकेको भट्टले बताए । उनले ग्रासरुटले बिगतका सबै समस्या हल गर्ने विश्वास व्यक्त गरे ।भट्टले हालै सम्पन्न भएका तीन तहका चुनावमा आन्तरिक समस्याले गर्दा पराजय व्यहोर्नुपरेको बताउदै पार्टीको नीति, सिद्धान्त र निर्णय पालन गर्न निर्देशन समेत दिएका छन् ।
‘तीन तहको निर्वाचनमा हामी किन पराजीत भयौँ । बाहिरी कारणले पराजीत भएका हौँ त रु होइन आन्तरिक कारणले पराजीत भएका छौँ,’ उनले भने, ‘पार्टीका नीति, निर्णय पालन नगर्ने प्रवृत्ति हाबी भएका कारण पराजय भोग्नुपरेको हो । अब सबैले यी कमजोरी सच्याउनुपर्छ । सच्चा कम्युनिष्टले म बाट गल्ती भयो भन्नुसक्नुपर्छ ।’‘जनताले एमालेलाई कसरी बुझेका छन् भन्ने बिषयमा ग्रासरुटले प्रस्ट पार्ने छ’ उनले भने ‘त्यसका लागि घर घर सम्म पुगेर पार्टीका बिषयमा सुझाव संकलन गर्नुहोला ।’ कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा प्रदेश सहइञ्चार्ज गणेश ठगुन्नाले मिसन ग्रासरुटले पार्टीलाई अझै बलियो बनाउन भूमिका खेल्ने बताए ।
ठगुन्नाले अगामी निर्वाचनबाट एमालेले बहुमत प्राप्त गर्ने बताउदै त्यसका लागि तयारी अवस्थामा रहन आग्रह गरेका हुन् ।‘अहिलेको संसदीय प्रणालीमा कुनै पार्टीको पनि बहुमत नभएका कारण मुलुक जुनसुकै बेला चुनावमा जानसक्छ । त्यसकारण तयारी अवस्थामा रहनुपर्छ,’ ठगुन्नाले भने, ‘एमाले एक्लैले बहुमत ल्याउनेगरी आजैदेखि तयारी गर्नुपर्छ ।’ उनले विगतमा टुटफुट र मनमुटुवाका कारण राम्रो नतिजा ल्याउन नसकेको उल्लेख गर्दै एकताबद्ध भएर पार्टीपंक्ति अघि बढनुपर्ने आवश्यकता औल्याए ।


