काठमाडौं। काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावको उम्मेदवारी दर्ताको दिन खुकुरीसहित एक जना पक्राउ परेका छन्। प्रहरीका अनुसार नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनका सन्दीप चन्द खुकुरीसहित पक्राउ परेका हुन्।
उनले स्ववियु चुनावको उम्मेदवारी मनोनयनका क्रममा उनले खुकुरी देखाएका थिए । त्यसपछि पक्राउ गरेर महानगरीय प्रहरी वृत्त सिंहदरबारमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । घटनाको विषयमा अनुसन्धान भइरहेको उनले बताए । यस्तै यसअघि रत्नराज्यलक्ष्मी क्याम्पस प्रर्दशनीमार्गमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि उम्मेदवारी दर्ताका क्रममा विवाद भएपछि शनिबार दुई विद्यार्थी समूहबीच खुकुरी हानाहान भएको छ।
एकीकृत नेकपा समाजवादी निकट अनेरास्ववियुका विद्यार्थीले एमाले निकट अनेरास्ववियुका विद्यार्थीमाथि खुकुरी प्रहार गरेको एमाले निकट विद्यार्थी नेताहरूको आरोप छ । अनेरास्ववियुका इकाई अध्यक्ष लोकेश खड्काले आफ्ना ३ जना विद्यार्थी घाइते भएको जनाए । राज न्यौपाने, अनिल बोहरा र विवेक गैरे घाइते भएका हुन् । उनले समाजवादी विद्यार्थी युनियनले निर्वाचन बिथोल्ने र निर्वाचन अधिकृतलाई आक्रमण गर्ने प्रयास गर्दा प्रतिकार गरिएको जनाए । ‘सुदेश पराजुलीको नेतृत्वमा काठमाडौं भरका गुण्डाहरु बोलाएर आक्रमण गर्न खोजियो, निर्वाचन बिथोल्न खोजियो,’ खड्काले भने ।पराजुलीले भने उक्त आरोप अस्वीकार गरेका छन् । क्याम्पस प्रमुख र निर्वाचन अधिकृत मिलेर फर्जी विद्यार्थी भर्ना गरे । त्यसका लागि सर्वदलीय बैठक डाक्न माग गरेका छौं ।
झडपपछि क्याम्पस बाहिर ठूलो संख्यामा प्रहरी प्ररिचालन गरिएको छ । आक्रमणमा संलग्नलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीले जनाएको छ । झडपपछि प्रदर्शनीमार्ग क्षेत्रमा यातायात आजजाउमा रोक लगाइएको छ ।विद्यार्थीहरु क्याम्पस बाहिर भेला भएका छन् भने भित्र क्याम्पस प्रमुख, निर्वाचन समिति र विद्यार्थी प्रतिनिधिबीच वार्ता भइरहेको छ। नेविसंघका इकाई सभापति सञ्जिव ढकालले फर्जी विद्यार्थीको विषयमा विवाद हुँदा झडप भएको जनाए ।क्याम्पस प्रशासनले विद्यार्थी संगठनको दवाव र प्रभावमा निर्वाचन निर्देशिका विपरीत विद्यार्थी भर्ना गरेको आरोप लगाएका छन्।
मतदाता नामवली प्रकाशनअघि नै फर्जी विद्यार्थीको विषयमा छानबिन गर्न समिति बनेको थियो ।समितिको प्रतिवेदन सार्वजनिक नगरी मतदाता कायम गरेर निर्वाचन प्रक्रिया अघि बढाएपछि विवाद बढेको थियो । विवादका कारण नेविसंघ, अखिल क्रान्तिकारी लगायत सत्तारुढ विद्यार्थी संगठनले क्याम्पसमा तालाबन्दी गरेका छन् ।शनिबार देशभरका क्याम्पसमा प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ । त्यसका लागि काठमाडौं उपत्यका २२ आंगिक क्याम्पसमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । आरआर क्याम्पसमा भने शनिबार झडप भएपछि क्याम्पस प्रशासनले मनोनयन दर्ताका लागि आइतबारसम्मको समय थपेको छ ।