धनगढी। कैलालीमा पत्रकारमाथि दुर्व्यवहार गर्ने नेटवर्किङ व्यवसायीविरुद्ध ठगीको उजुरी दर्ता गरिएको छ। अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गर्दै आएको आरएनसी प्राली विरुद्ध ठगी उजुरी दर्ता गरिएको हो। कैलाली, कञ्चनपुर र बैतडीका केही पीडितहरूले आफूलाई ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा बिहीबार पीडितहरुले उजुरी दिएका हुन।
आरएनसी ट्रेडिङ्ग प्रालीका व्यवस्थापक भीम ऐरीले रोजगारी दिने भन्दै २० हजारका दरले रकम असुली गरेको आरोपसहित पीडितले उजुरी दिएको प्रशासनले जनाएको छ। उनीहरुले ऐरीले आश्वासनअनुसारको रोजगारी नदिएपछि रकम फिर्ता माग्दा गाली गलौच र हातपात गरेको उजुरीमा उल्लेख गरेका छन्।पीडितहरु ठगिएको गुनासोको आधारमा रिर्पोटिङ गएका बेला आरएनसीका कर्मचारीले पत्रकार टीकाराम साउदमाथि दुर्व्यवहार गरेका थिए। दुव्र्यवहार गर्ने दुई जनालाई कैलाली प्रहरीले पक्राउ गरेर अभद्र व्यवहारको मुद्दा चलाएको छ।
पछिल्लो समय सरकारले निषेध गरेको नेटवर्किङ (पिरामिडमा आधारित) व्यवसाय फस्टाउँदै गएको पाइएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले भने जिल्ला भित्रका नेटवर्किङ व्यवसायका बारेमा आफूहरू जानकार नभएको र उजुरी परे कारबाहीको दायरामा ल्याउने बताएको छ। बस्तुको प्रत्यक्ष बिक्री ऐन २०७४ को दफा ११ विपरीत हुने गरी व्यवसाय सञ्चालन गरे गराएमा कसुर गर्ने व्यक्तिलाई बिगो खुलेको भए बिगो बमोजिमको जरिवाना र बिगो नखुलेमा पाँच लाख रुपैयाँ देखी दश लाख रुपैयाँ सम्म जरिवाना वा तीन वर्ष देखी पाँच वर्ष सम्म कैद सजाय वा दुवै सजाय हुन सक्ने ऐनमा उल्लेख गरिएको छ । हाल सुदूरपश्चिम प्रदेशका सात सय सहित अन्य जिल्लाका गरी करिब एक हजार बढी मानिसहरू यो व्यवसायमा आबद्ध भएका छन्।
बस्तुको प्रत्यक्ष बिक्री ऐन २०७४ ले पिरामिडमा आधारित व्यवसायलाई निषेध गरेको छ । ऐनको दफा ११ ले वस्तु खरिद गर्नु पूर्व अनिवार्य रूपमा सदस्यता लिनु पर्ने, बस्तु खरिद गर्दा अन्य बस्तुहरू समेत एकमुष्ट प्याकेजमा खरिद गर्नु पर्ने, बस्तु खरिद गर्ने व्यक्तिले आफू मातहतको अर्को बिक्रेता वा वितरक बनाउन नसकेको अवस्थामा लाभांश प्राप्त गर्न नसकिने, बस्तुको खुद्रा बिक्रीलाई निरुत्साहित गर्ने व्यापारिक कार्य योजना भएको सञ्जालयुक्त कार्य तथा कमिसनको प्रलोभन देखाई सदस्यता बनाउने वा बस्तु खरिद गर्न लगाउने कार्यलाई नेटवर्किङ व्यवसायका रूपमा परिभाषित गरेको छ।