काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेको पनि सहयोग गर्ने बिश्वास लिएका छन्। शनिबार मनोनयन पत्र दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पौडेलले एमालेको सहयोग लिएर सर्वसम्मत रुपमा राष्ट्रपतिमा निर्वाचित हुनेमा आफू आशावादी रहेको बताए।
एमाले अध्यक्ष केपी शर्मा ओली आफूसँगै जेल बसेको स्मरण गरे। एमाले अध्यक्ष केपी ओली पनि मैसँग जेलमा बस्नु भएको हो। लामो समयदेखिको साथी हो। राष्ट्रपति सबैको साझा पद हो। यसमा मलाई जिताउन उहाँले योगदान गर्नुहोला भन्ने लागेको छ,पौडेलले भने। उनले सर्वसम्मत राष्ट्रपति हुनका लागि आफूले प्रयास गरेको पनि बताएका छन्। रवि लामिछानेसँग पनि सकारात्मक छलफल भएको छ,पौडेलले भने। शुक्रबार साँझ बालुवाटारमा भएको बैठकबाट पौडेलको उम्मेदवारीलाई ८ राजनीतिक दलले समर्थन गर्ने जनाएका छन्।
एमालेले भने उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ। पौडेलले राष्ट्रपतिमा आफ्नो उम्मेदवारी गणतन्त्र संस्थागत गर्नका लागि भएको बताएका छन्। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग उनले संविधानको रक्षा र परिवर्तनको उपलब्धी रक्षाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। नेपालको संविधान २०७२ को अक्षरशस् पालना गर्ने, संविधानको रक्षा गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न अहिले चुनौती छ, उनले भने, नेपाली जनताको हातमा आएको सर्वभौमसत्तालाई बलियो गरेर सुरक्षित राख्नु पर्नेछ। नेपालमा आएको परिवर्तनलाई संस्थागत गर्दै नेपालको उन्नतिका लागि अघि बढ्ने र नेपालको राष्ट्रिय एकता र अखण्डतालाई जोगाउने काममा मेरो सहयोग हुन्छ ।