काठमाडौं। राष्ट्रपति पदको उम्मेदवार टुंगो लगाउन राजनीतिक दलका नेताहरु आज पनि सक्रिय छन्। सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रले आज कांग्रेस, एकीकृत समाजवादी र जसपासँग छुट्टाछुट्टै छलफल गर्ने र आजै साँझ पुरानो पाँच दलीय सत्ता गठबन्धनको संयुक्त बैठक बस्ने तयारी छ।
हिजो नेपाली कांग्रेस र माओवादी केन्द्रबीच छलफल भएको थियो। उक्त छलफलपछि नेताहरुले पुरानो सत्ता गठबन्धन व्युँताउने विषयमा सहमति नजिक पुगेको बताएका थिए । सोही बैठकमा भएको कुराकानी अनुसार आज माओवादी–जसपा र माओवादी–एकीकृत समाजवादीबीच छलफल गर्ने तयारी गरिएको हो।राष्ट्रपतिमा कांग्रेसले उम्मेदवारी दिनेगरी पुरानो गठबन्धन सम्बद्ध पार्टीहरु एक ठाउँमा आउने सहमति भएको बैठकमा सहभागी एक नेताले भने । उनका अनुसार कांग्रेस र माओवादीबीच माधव नेपाल र उपेन्द्र यादवलाई सँगै ल्याएर पुरानो गठबन्धनलाई अगाडि बढाउने सहमति भएको छ ।
त्यसमा सिके राउत नेतृत्वको जनमत, नागरिक उन्मुक्ति पार्टीलाई पनि समेटेर मजबुत गठबन्धन बनाएर जाने कांग्रेस र माओवादीले बैठकबाट निष्कर्ष निकालेको उनको भनाइ छ। बैठक राष्ट्रपतिको उम्मेदवार चयनमा केन्द्रित हुनेछ। आगामी २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि १३ गते मनोनयन दर्ता हुँदैछ। कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मध्ये को पहिला प्रधानमन्त्री हुने भन्ने विवादले १० पुसमा पाँचदलीय गठबन्धन टुटेको थियो। प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले सहमत भएपछि नयाँ गठबन्धन बन्यो, जसमा राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी, जनमत र नागरिक उन्मुक्ति पार्टी पनि सहभागी भए। तर दुई महिनामै यो गठबन्धन भत्किएर पाँच दलीय गठबन्धन ब्यूँतिने परिस्थिति बन्दै गएको छ।