कञ्चनपुर। कञ्चनपुरको पुनर्वासबाट १५ लाख भारतीय रुपैयाँ र गरगहनासहित सशस्त्र प्रहरीले ३ जना पक्राउ परेका छन् । कञ्चनपुरको पुनर्वास नगरपालिका–४ कार्गिल डाँडाबाट भारतीय रुपैयाँ र गरगहना विभिन्न सामग्रीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–८ का २९ वर्षीय अम्मर भुल, ३९ वर्षीय खडकसिंह भुल र डडेल्धुराको आलिताल गाउँपालिका–४ का २४ वर्षीय बिरेन्द्र सार्की रहेका छन्।उनीहरुको साथबाट १५ लाख २८ हजार ५ सय ८८ भारतीय रुपैयाँ, ६ सय ५५ रुपैयाँ नेपाली रुपैयाँ, सिक्रि ४ थान, पाउँजु १ जोडी, औँठी ४ थान, बाला ३ थान, टप १० थान, बटन १ थान बरामद गरिएको छ।
यसैगरी, झुम्का १ जोडी, टाउकोमा लगाउने गहना १ थान, जन्तर १ थान, घडी १ थान, मोबाइल ३ सेटलगायतका सामान बरामद गरिएको सशस्त्र प्रहरी बल ३५ नम्बर गणले जनाएको छ। थप अनुसन्धानका लागि सशस्त्र प्रहरीले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको जिम्मा लगाएको छ। शुक्रवार ९ बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी नायब निरीक्षक सागरसिँह धामीको कमाण्डमा खटिएको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो।उनीहरुमाथी थप अनुसन्धान भैरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।