धनगढी। लगानी बोर्डको नेपालले सुदूरपश्चिमा प्रख्यात पर्यटकीय क्षेत्र खप्तडमा केबलकार र होटल खोल्न गुरुयोजना बनाउने भएको छ । बोर्डले खप्तड एकीकृत पर्यटन आयोजनाको पूर्वसम्भाव्यता अध्ययन र गुरुयोजना तयार गर्न परामर्शदाता कम्पनीसँग प्रस्ताव माग गरेको छ ।
१५ दिने सूचना जारी गर्दै लगानी बोर्डले योग्यता पुगेका परामर्शदाताले अनलाइनबाटै प्रस्ताव पेश गर्न सक्ने जानकारी दिएको छ। प्रस्ताव छनोट भएपछि सम्भाव्यता अध्ययन र दीर्घकालीन योजनाका लागि एक वर्षको समय दिइनेछ । सरकारले सन् २०१९ मार्चमा आयोजना गरेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा लगानी बोर्ड नेपाल (आईबीएन) ले यो परियोजना प्रदर्शन गरेको थियो । लगानी सम्मेलनका लागि तयार पारिएको परियोजना बैंक विवरणअनुसार एकीकृत पर्यटन तथा यातायात पूर्वाधार निर्माणको लागत १८ करोड ७० लाख अमेरिकी डलर अनुमान गरिएको थियो ।
करिब २५ अर्ब रुपैयाँ लागतको आयोजना सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालन हुनेछ ।लगानी बोर्डले झिङ्ग्राना पोष्टबाट खप्तडको कार्यालयसम्म करिब ७ किलोमिटर लामो केबलकार बनाउने लक्ष्य लिएको छ । त्यहाँ तारे स्तरका दुईवटा होटल पनि विकास गर्ने योजना छ। प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा चल्ने यी होटलहरुले मध्यम र उच्च विलासिताको सेवा दिनुपर्ने छ। गल्फ, योग, जस्ता विभिन्न गतिविधिका लागि पूर्वाधार बनाउने, ध्यान, घोडसवारी, आरोहण, हर्बल उपचार, साइकिलिङ, हेली सेवा, स्काइ डाइभिङ लगायतका सेवाको विकास गर्ने सोच छ। यसका साथै आगन्तुकहरूलाई स्थानीय रूपमा उत्पादित अर्गानिक खाद्यान्न उपलब्ध गराउने योजना छ ।
यो परियोजनाले खप्तड क्षेत्रको आध्यात्मिक सम्पदा झल्काउने छ। स्थानीय जनजीवन प्रदर्शन गर्न यो परियोजनालाई संग्रहालय विकास गर्न सकिने अवधारणा छ। खप्तड बाबाको काम, इतिहास र लोककथा पनि प्रबर्द्धन गर्ने योजना छ। सरकारले झिङ्ग्रानासम्मको सडकको स्तरोन्नति गर्नेछ। सो क्षेत्रमा फोटोभोल्टिक सोलार प्यानल प्रणाली राखेर थर्मल प्रणाली मार्फत पानी आपूर्ति गर्नुपर्ने मानिएको छ। यसले राष्ट्रिय निकुञ्जको संरक्षणमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । यो ठाउँ विलासी पर्याटकका लागि काठमाडौं भन्दा पनि उत्कृष्ट गन्तब्य हुने अपेक्षा गरिएको छ।