कैलाली। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीलाई विश्वासको मत दिने नदिने बारेमा नागरिक उन्मुक्ति पार्टीको बैठक सम्पन्न भएको छ। प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र सिँह रावलले भोली लिने विश्वासको मतको बारेमा नागरिक उन्मुक्ति पाटीका नेता तथा कार्यकर्ता बिच डिल्लीबजार कारागारमा बैठक गरिएको थियो । बैठकमा सत्ता गठबन्धनमा रहेको नागरिक उन्मुक्ति पार्टीले भने विश्वासको मत नदिने सङ्केत गरेको छ ।
आज नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेशका सात जना सांसद रेशम चौधरीलाई भेट्न डिल्लीबजार स्थित कारागार पुगेका थिए । उनी भन्दा केही समय अघि पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ पनि कारागार पुगेकी थिइन् । सात सांसदलाई रेशम चौधरीले तत्काल सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिन नसकिने बताएका थिए। नागरिक उन्मुक्तीका संरक्षक रेशम चौधरीले आफ्ना सांसदलाई पहिले जेलको ढोका खुल्ला, त्यसपछि सरकारको ढोका खुल्ला भनेको प्रबत्ता दामोदर पण्डीतले बताएका छन्।
११ बजे देखी भएको छलफलको बैठक करिब ५ बजे सम्म चलेको थियो। उक्त छलफलमा नागरिक उन्मुक्तिका केही सांसदहरूले तत्काल विश्वासको मत दिएर सरकारमा जान आफ्ना मतदाताको दबाब रहेको बताएका थिए ।जवाफमा रेशम चौधरीले माग र मुद्धा भन्दा बाहिर जान नसकिने बताएका थिए । बैठक सकिए लगत्तै शीर्ष नेताले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने अडान यथावत् नै रहेको बताए ।
भोली सुदूरपश्चिम सरकारका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत मत दिने संसद् बैठक आह्वान गर्न भनेका थिए। भोलिको बैठक १ बजेको लागि सारिएकोमा मुख्यमन्त्रीले विश्वासको मत पाउने सम्भावना नरहेको बताइएको छ।
२७ पुसमा रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले २६ गते सम्म विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता रहेको छ। सुदूर पश्चिममा नागरिक उन्मुक्तिले विश्वासको मत नदिए सरकारले बहुमत गुमाउने सम्भावना बढेको छ। ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ। माओवादीका सभामुखबाहेक १०, एमालेका १० र राप्रपाको एक गरी सत्तापक्षमा २१ मत छ। सात सिट रहेको नागरिक उन्मुक्तिले साथ दिए मात्र सत्ता पक्षको बहुमत पुग्छ । प्रदेश सभामा प्रतिपक्षमा कांग्रेसका १९, एकीकृत समाजवादीका ४ र एकजना स्वतन्त्र सांसद रहेका छन्।