धनगढी। सुदूरपश्चिम प्रदेशमा दुई दिन पानी पर्ने र हिमपातको सम्भावना रहेको छ । माघ १५ र १६ गते पानी पर्ने र पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।पश्चिमी वायुको सामान्य प्रभावको कारण हाल तराईका भू–भागमा हुस्सुरकुहिरो लागेको मौसम पूवार्नुमान महाशाखाले जानकारी दिएको छ।



आइतबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बद्ली रहने र एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ । यसैगरी, राति दुवै प्रदेशमा आंशिकदेखि सामान्य बदली रही एक वा दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
माघ १६ गते सोमबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बद्ली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बुलेटिनमा उल्लेख छ। त्यस्तै, राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । साथै, सुदूरपश्चिम र कर्णाली प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षा र केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । भारतको मौसम विभागले शनिबार जारी गरेको सूचना हेर्दा सुदूरपश्चिम, कर्णाली प्रदेशको हिमाली, पहाडी भूभागमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जानकार धरमराज उप्रेतीले उल्लेख गरेका छन् । तराई क्षेत्रमा हल्का वर्षा, चट्याङ र कतै असिनासमेत पर्न सक्ने उनको भनाइ छ ।
