कैलाली। कैलालीका तीन स्थानीय पालिकामा दादुराका बिरामी फेला परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी र गौरीगङ्गा नगरपालिकामा दादुरा संक्रमित बिरामी फेला परेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ।
समुदायमा दादुराका नयाँ संक्रमित देखा परेपछि दादुरा अन्यत्र पनि फैलने सक्ने भन्दै प्रभावित क्षेत्रमा सघन खोप कार्यक्रम सञ्चालन गरिने भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका १ को पशुपतिटोलमा भारतबाट आएका ४ जना बालबालिकामा दादुरा संक्रमण पुष्टि भएको जनाइएको छ। गोदावरी नगरपालिकाको वडा नम्बर ३ र गौरीगङ्गाको वडा नम्बर ६ मा १/१ जनालाई दादुरा संक्रमण भएको छ। स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जिल्लाका तीन स्थानीय तहमा दादुरा देखापरेको स्थानमा खोप अभियान सञ्चालन गर्ने तयारी गरिरहेको बताए।
यस्तै संक्रमण अन्यत्र पनि फेलिए नफैलिएको यकिन गरेर तुरुन्तै खोप अभियान चलाउने तयारी भइरहेको उनले बताएका छन्। कैलालीमा दादुराको खोप नलगाएको, पूरै खोप लगाउन छुटेको र पूर्ण खोप लगाएको बालबालिकामा पनि दादुरा संक्रमण पुष्टि भएको छ। दादुराको संक्रमण देखापरेको स्थानीय तहका वडा र आसपासका वडामा अझै बिरामी भए नभएको पत्ता लगाउन खोज पड्ताल अभियान थालिने भएको छ। यस्तै, दादुरा संक्रमित र दादुराको संक्रमण फैलिन सक्ने ६ महिनादेखि १५ वर्ष उमेर समूहको बालबालिकाको संख्या पत्ता लगाएर तुरुन्तै दादुरा खोप अभियान सञ्चालन गर्ने संघीय सरकारले निर्णय गरेको जनाएको छ।