धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावल माघ ११ गते बिश्वासको मत लिने तयारीमा रहेका छन्। प्रदेशको निर्णायक शक्ति मानिएको नागरिक उन्मुक्ति पार्टीले समर्थन दिएर नै मुख्यमन्त्री बनेका रावल अब बिश्वासको मत लिने तयारीमा रहेका हुन्। रावल माओवादी केन्द्र, नागरिक उन्मुक्ती र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका थिए। मुख्यमन्त्री बनेको एक महिना भित्र बिश्वासको मत लिइसक्नुपर्ने नियम छ।
सभामुख निर्वाचनमै पटक पटक मत नहालेको उन्मुक्तीले फेरी रेशम चौधरी लगायत टिकापुर घटनाका राजबन्दी रिहाइको माग पुरा नभएसम्म बिश्वासको मत नदिने बताएपछि रावल बिश्वासको मत नपाउनेमा आशंका गरिएको छ। उनी आफू विश्वासको मत पाउनेमा सशंकित देखिएका छन्। पार्टीका संस्थापक रेशम चौधरीको रिहाइलाई मुख्य मुद्दा बनाएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिँदा सरकार ढल्ने जोखिम बुझेका मुख्यमन्त्री रावलले छलफललाई तिब्रता दिएका छन्। उनले शिर्ष तहका नेतासँग भेटघाटमा रहेका छन्। सत्तारुढ गठबन्धनको शीर्ष तहका नेताहरुबीच नागरिक उन्मुक्ति पार्टीले उठाएका माग र मुद्दाका सम्बन्धमा कुनै न कुनै समझदारी जुटाएर विश्वासको मत लिने पक्षमा उनी देखिन्छन्।सुदूरपश्चिम इञ्चार्ज समेत रहेका एमालेका केन्द्रीय सचिव लेखराज भट्ट समेतका नेताले नागरिक उन्मुक्ति पार्टीलाई मनाउन धनगढीमा वार्ता गरिरहेको स्रोत बताउँछ। गठबन्धनको शीर्ष तहको सहमति खोज्न र नाउपाका संस्थापक रेशम चौधरीलाई मनाउन सत्तारुढ गठबन्धन नेताहरु काठमाडौं जाने तयारीमा छन्।
स्रोतकाअनुसार मुख्यमन्त्री रावल, बिना विभागीय मन्त्री समेत रहेका माओवादी संसदीय दलका नेता खगराज भट्ट, नाउपा संसदीय दलका नेता रामेश्वर चौधरी लगायतका प्रदेशसभा सदस्य र नेताहरु आज बिहीबार काठमाण्डौ जाँदैछन्। त्यहाँ उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ र रेशम चौधरीसँग सरकारमा पावर शेयरिङका विषयमा समझदारी गर्ने प्रयास गर्नेछन्।एमालेका प्रदेशसभा सदस्य धर्मराज पाठक पनि सत्तारुढ गठबन्धनमा आवद्ध सबै दलहरुलाई विश्वासमा लिएर मात्र मुख्यमन्त्रीले विश्वासको मत लिने बताएका छन्। संविधानले तोकेको समय सीमाभित्र रहेर उपर्युक्त दिन हेरेर मुख्यमन्त्री ज्यूले विश्वासको मत लिने उनले बताए। नाउपालाई पनि सरकारलाई सहभागी गराउने प्रयास अन्तरतगत विभिन्न चरणमा संवाद भइरहेका उनले जानकारी दिए।
नागरिक उन्मुक्ति पार्टीले उपसभामुख नलिने भएपछि अन्तिम समयमा एमालेले कोइलीदेवी चौधरीलाई उम्मेदवार बनाएको थियो। एमाले र माओवादीले सरकारमा आउन प्रस्ताव गरे पनि तत्काल बाहिर बसेर समर्थन गर्ने जनाएको छ। माओवादी केन्द्रका प्रदेशसभा सदस्य ओमविक्रम भाट ‘सरल’ ले गठबन्धनको शीर्ष नेतृत्वबीच हुने सहमतिका आधारमा प्रदेश सरकारमा शक्ति बाँडफाँड हुने र त्यसपछि मुख्यमन्त्रीले विश्वासको मत लिने बताए। मुख्यमन्त्री रावल ढुक्क हुन सक्ने अवस्था नभएकाले शीर्ष तहको समझदारी हुने कतीपय नेताहरुले बताएका छन्। उनीहरुले मुख्यमन्त्रीले पनी नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा लैजान खोजेकै कारण माओवादीका खगराज भट्ट र एमालेकी सन्तोष शर्मा थापालाई मन्त्रीमा नियुक्त र जिम्मेवारी नतोकेको बताएका छन्। नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता रामेश्वर चौधरीले रेशम चौधरी लगायत टिकापुर घटनाका राजबन्दी नछुटेसम्म विश्वासको मत नदिने बताएका छन्। अहिलेसम्म गठबन्धनलाई समर्थन गर्दै मुख्यमन्त्री, सभामुख र उपसभामुख दिइसकेकाले सरकार विस्तार र मुख्यमन्त्रीको विश्वासको मतबारे कुनै टुंगो लागेको नलागेको उनले बताए। उनले सुदूरपश्चिम प्रदेश सरकारका सम्बन्धमा पार्टीको शीर्ष नेतृत्वकाबीचमा पनि छलफल भइरहेको बताए।