काठमाडौं। नवनियुक्त उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङदेनले पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्ने बताएका छन्। मंगलबार पदभार ग्रहण गर्दै मन्त्री लिङदेनले मुलुकको आवश्यक्ता र प्राथमिकताको आधारमा मन्त्रालयको कार्यसम्पादन गर्न पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्ने पहिलो निर्णय भएको बताए ।
जसका लागि तीन सदस्यीय कार्य दल बनाउने उनले बताए। मन्त्रालयकै सहसचिवको नेतृत्वमा गठन हुने कार्य दलले मन्त्रालयको आवश्यक्ता र प्राथमिकताहरु निर्धारण गर्न र पाँच वर्षे एउटा रणनीतिक योजना बनाउने उनले बताए । आफूले जिम्मेवारी लिएको मन्त्रालयको काम चुनौतीपूर्ण रहेपनि त्यसलाई अवसरमा बदल्ने उनले बताए।
सबै मन्त्रालयहरुको आ–आफ्नो ठाउँमा महत्व हुने भन्दै उनले नेपाल जस्तो देशको लागि ऊर्जा मन्त्रालयको जिम्मेवारी पाउनु आफ्नो लागि एउटा महत्वपूर्ण अवसर भएको बताए।‘भन्नेहरुले सरकारमा गयो कि बिग्री हाल्छ जानै हुँदैन है राजेन्द्र लिङदेनजस्ता मानिसहरु भन्थे। नेपालको सन्दर्भमा सरकारमा जानु, मन्त्री हुनु भनेको नै चुनौतीपूर्ण जस्तो ठानिन्छ । किनकी त्यहाँ गएपछि मान्छे बिग्रिन्छ नै भनेर। नबिग्रेका मानिसहरु त्यहाँ जानुहुन्न भन्ने मेरो शुभेच्छुकहरुले बिहानसम्म पनि सुझाव दिइरहनु भएको थियो । यो चुनौतीपूर्ण छ । तर म यसलाई अवसरमा परिणत गर्छु। मलाई विश्वास छ’ उनले भने।