धनगढी। सुदूरपश्चिम प्रदेशमा नागरीक उन्मुक्ति पार्टीले समाभामुखलाई मतदान गर्ने भएको छ। नागरिक उन्मुक्ती पार्टीले सत्ता पक्षका उम्मेदवार भीमबहादुर भण्डारीलाई मत दिने भएपछि सुदूरपश्चिम प्रदेशले मंगलबार सभामुख पाउने भएको हो। उन्मुक्ती गठवन्धनमै बस्ने भए पनि सरकारमा भने सामेल नहुने भएको छ। यता नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ आज धनगढी पुगेकी थिइन्।
सोमबार धनगढीको एक होटलमा प्रदेश सभा सदस्यहरुसंग भेट्दै श्रेष्ठले सुदूरपश्चिम प्रदेशको सभामुख चयनमा सत्तारुढ दललाई समर्थन गर्न निर्देशन दिएकी छिन्। सभामुख चयनमा सरकारलाई समर्थन गर्न निर्देशन दिएकी हुन। उनले भनिन –‘सभामुखमा मत हाल्नुहोला । हामी सरकारमा जाँदैनौं। प्रतिपक्षमै बस्छौं।’ यद्यपी अध्यक्ष श्रेष्ठले प्रदेश सभा सदस्यहरुलाई प्रतिपक्षमा बस्न निर्देशन दिएपनि सुदूरपश्चिम प्रदेश सभाको रोमा सो दलका सदस्यहरु सत्तापक्षमै बसेका छन् । यस अघि सो पार्टीका नेता लक्ष्मण चौधरीले गठवन्धन नछोड्ने तर सरकारमा नजाने र उपसभामुख पद पनि नलिने बताएका थिए। नेता चौधरीले उसभामुख कसलाई बनाउनु हुन्छ निर्णय गर्नुस भनेर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई भनि सकेको बताएका थिए।
नागरिक उन्मुक्ती तटस्थ बसकोले सत्ता पक्षका माओवादीका प्रदेश सभा सदस्य भीमबहादुर भण्डारी दुई पटक चुनाव हुँदा पनि ५३ सदस्यीय प्रदेश सभाको ५१ प्रतिशत अर्थात २७ मत नपाएर चुनिन सकेका छैनन्। उनले पुस २८ गतेको पहिलो चुनावमा २६ र पुस ३० गतेको दोस्रो चुनावमा २२ मत पाएका थिए। सत्ता पक्षसंग माओवादीका ११, एमालेका १०, उन्मुक्तीका सात र राप्रपाका एक गरेर २९ मत छन् ।यस्तै गरेर विपक्षी गठवन्धनका सभामुखका उम्मेदवार मानबहादुर रावलले पहिलो चुनावमा २३ र दोस्रोमा २२ मत पाएका थिए। उनले पहिलो चुनावमा नेपाली कांग्रेसका १८, नेकपा (एकीकृत समाजवादी) का चार र स्वतन्त्रका एक जनाको मत पाएका थिए । भने सभामुखको भूमिकामा रहेका शिवराज भट्टले भने मतदान गरेनन्। पछिल्लो चुनावमा पनि भट्टले मतदान गरेनन भने कांग्रेसकै सरस्वती खड्का अनुपस्थित भइन । सभामुखले निर्णायक अवस्थामा मात्र भोट हाल्नु पर्ने हुन्छ ।