कञ्चनपुर। कञ्चनपुरको सिसैयामा ट्याक्टरले किचेर एक महिलाको मृत्यु भएको छ। कञ्चनपुरको बेदकोट नगरपालिका–७ लालपुर स्थित सिसैया कोल्डस्टोर नजिक ट्याक्टरले किचेर एक महिलाको मृत्यु भएको हो। शनिबार साँझ ५ बजेतिर ट्याक्टरले साईकलमा सवार बेदकोट नगरपालिका १ पिपलथला निवासी नवल मल्लकि २२ वर्षिय छोरी तारा मल्ललाई ठक्कर दिँदा घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृतकको झोला भित्र तारा मल्ल लेखिएको परिचयपत्र फेला परेको छ। पश्चिमबाट पूर्व तर्फ गइरहेको ट्याक्टरले ती युवतीलाई ठक्कर दिएको थियो। ट्याक्टर चालक फरार रहेको र उनको खोजी कार्य तीव्र पारिएको लालपुरस्थित प्रहरी चौकीका सई रामसिंह धामीले जानकारी दिए। चालक पक्राउ परेपछि घटनाका बारेमा थाहा हुने उनले बताएका छन्। घटनापछि सिसैया क्षेत्र तनावग्रस्त बनेको छ।