कञ्चनपुर। कञ्चनपुरको बेलौरीमा रहेका सामुदायिक अस्पताल र मेडिकलका औषधी पसलहरुमा अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुर, जिल्ला स्वास्थ्य कार्यालय र औषधी व्यवस्था विभाग नेपालगञ्जको संयुक्त अनुगमन टोलीले बेलौरीका औषधी पसलहरुको अनुगमन गरेको हो।
बेलौरीका बिभिन्न अस्पताल र क्लिनिकमा अनुगमनका क्रममा लागुऔषध बिक्री हुने गरेको पाईएको जिल्ला जनस्वास्थ्य कार्यालय कंचनपुरका परिवार नि.सु. निरिक्षक कपिल जोशीले बताए। संयुक्त अनुगमन टोलीले बेलौरी बजारमा सञ्चालन गरिएको जगदम्बा अस्पतालको फार्मेसी सिल गरेको छ। टोलीले बेलौरी नगरपालिकामा रहेको जगदम्बा अस्पतालमा मोनोदिप तथा लागुऔषध बिक्रीवितरणका लागि राखिएको फेला पारेको हो। अनुगमनमा डाक्टरको सिफारिस बिना मोनोदिप तथा नेपालमा दर्ता नरहेको गर्भपतन गराउन प्रयोग गरिने ट्याबलेट बिक्री गरिरहेको फेला परेको हो।अस्पतालको संचालन अनुमति पत्र समेत नभेटिएपछि अनुगमन टोलीले उक्त फार्मेसीलाई सिलबन्दी लगाउँदै अस्पताललाइ तीन दिनभित्र आवश्यक कागजात सहित जिल्ला स्वास्थ्य कार्यालय कंचनपुरमा स्पष्टिकरण बुझाउन निर्देशन दिएको बताइएको छ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रवक्ता धर्मराज जोशीले अनुमति नलिएर सञ्चालन तथा प्रतिबन्धित औषधी बिक्री गर्ने गरेको जनगुनासो बढेपछि अनुगमन गरिएको बताए। अनुगमन टोलीले ३ वटा फार्मेसीहरुमा अनुगमन गरेको थियो। अनुगमन टोली बेलौरी पुग्दा अधिकांस मेडिकलहरु बन्द थिए। अन्य स्वास्थ्य संस्थाहरु अनुगमनबाट बच्नकानिम्ती पसल बन्द गरेर भागेका थिए। अनुगमन टोलीले बाशुदेव मेडिकल, इशान मेमोरियल अस्पताल र जगदम्बा अस्पतालमा अनुगमन गरेको थियो।
नेपालमा दर्ता नरहेको गर्भपतन गराउन प्रयोग गरिने ट्याबलेट बिक्री गरिरहेको फेला परेकाले नियम अनुसार अनुमति पत्र प्राप्त गर्नुपर्दछ। स्थानीय तहमा स्वास्थ्य संस्था दर्ता अनुमति तथा नवीकरणीय सम्बन्धी निर्देशिका २०७७ को दफा ४को उपदफा १ बमोजिम कुनै पनि अस्पताल वा पोलिक्लिनिक संचालन गर्नुपर्दा पुर्वाधार निर्माणको मनसाय पत्र अनुसूची ३ बमोजिमको ढांचामा निवेदन पश्चात दफा ४ को उपदफा ४ बमोजिम १५ दिन भित्र निवेदकलाइ मनसाय पत्र प्रदान पश्चात दफा ५ को उपदफा १ बमोजिम अनुसुची ४ भरी संचालन अनुमतिको निवेदन निवेदकले पेश गरेको खण्डमा दफा ५ को उपदफा ३ बमोजिम निरिक्षण टोलिले १५ दिन भित्र स्थलगत निरिक्षण गरि स्वास्थ्य सेवा संचालन गर्ने निकाय समक्ष पेश गरी दफा ५ को उपदफा ४ बमोजिम संचालन अनुमति पत्र प्राप्त गरे पश्चात मात्र अस्पताल वा पोलिक्लिनिक सञ्चालन गर्ने प्रावधान छ !