कैलाली। कैलालीको चुरे गाउँपालिका ६ गौजेनाकी ५५ वर्षीय तुलसी बोहरा आफ्नो १४ रोपनी जग्गामा अन्नबाली उत्पादन गरेर जीविकोपार्जन गर्दै आइरहेकी थिइन् । त्यही जग्गामा उनको घर थियो । २०७७ असोजमा अविरल वर्षा पछि आएको पहिरोले उनको घरबारी मात्रै लगेन खुसीहरू समेत छिनेर लग्यो । त्यसपछि पुर्ख्यौली थलोबाट सधैँका लागि विस्थापित भइन् ।
गौजेनाकै ५२ वर्षीय गङ्गा बोहराको पीडा पनि त्यो भन्दा कम छैन । उनले घर बास सहितको १२ कट्टा जग्गा त्यही दिन पहिरोले खोस्यो । बस्ने घर,गरिखाने जमिन, भएको अलिअलि अन्नपात र लत्ताकपडा सबै गुम्यो ।‘केही जोगाउन सकिएन, जसोतसो प्राण जोगियो’ आँखाभरि आँसु पार्दै उनले सुनाइन,‘सबै थोक भएका हामी हेर्दा हेर्दै सबै विहीन भयौँ ।’तुलसी र गङ्गा जस्ता दर्जनौँ परिवारहरू रातारात सडकमा आए । उनीहरू सबैको क्षति र पीडा उस्ता उस्तै थियो । धनमाल जोगाउन नसकेकाहरू त्यही बसेर ज्यान जोखिममा पार्न चाहेनन्, सुरक्षित वासस्थानको खोजीमा निस्के ।
तुलसी चुरे गाउँपालिका वडा नं.–४ चुरे फेदमा रहेको पनेरुवागडा स्थित राष्ट्रिय वनमा टहरो बनाई बस्न थालिन्,गङ्गा पनि त्यही टहरो भित्र अटाइन्। यी टहरामा केहि मात्रामा मात्रै पुरुषहरू भेटिन्छन् । पुरुषहरू हरू कहाँ छन् त भन्ने जिज्ञासामा उनले सुनाइन्, ‘यै टहरो कुरेर बसे के खाने ? के लाउने ? हातमुख जोर्न भए पनि केही कमाउनै पर्यो कमाउन भारत गएका छन् । त्यसैले त यहाँ चुलो बल्छ ।’बाढी पहिरोले घर बास उजाडिएपछि जिल्ला विपत् व्यवस्थापन समितिले केहि समयका लागि भन्दै पनेरुवागडा स्थित राष्ट्रिय वनलाई विस्थापितहरू बस्ने गरी टहरा निर्माण गरिदियो ।
ज्यान जोगाउन जाग्राम- आफ्नो पुरानो ठाउँबाट सबै गुमाएर जङ्गलमा पुगेकाहरूलाई यहाँ पनि त्यतिकै जोखिम छ । ठूलो पानी पर्दा उनीहरूलाई निद्रा पर्दैन । चुरेको कमजोर भू–बनोट,त्यसैमाथि सामान्य वर्षामा पनि उर्लेर आउने खहरे खोलाले उनीहरूलाई झन् त्रास दिइरहन्छ ।नदीले घेरिएको क्षेत्रमा जोखिम पूर्ण रूपमा अस्थायी बसोबास गरिरहेका उनीहरू लगातार भारी वर्षाको बेला नदीमा पानीको सतह बढ्न साथ ज्यानै जोगाउनका लागि भए पनि रात भरी नसुती बाढीको अवस्था हेर्ने र अरू विकल्प सोच्ने गर्छन् ।‘पानी पर्न सुरु गर्यो भने बच्चा काखमा च्यापेर रातभरि नसुती बस्छु, केटाकेटी सानै छन् कति बेला बगाउँछ भन्ने पिर हुन्छ’स्थानीय पद्मा कुमारी रावतले पीडा पोखिन् ।७५ वर्षीया नखरी देवी धामीको पनि टहरो नदी नजिकै छ । उनको सहारा भनेको ३ बर्सिया नातिनी मात्रै छिन् । उनी भन्छिन्, ‘पहिरोले सबै लगेपछि कमाउनका लागि छोरा बुहारी भारत छन् । पानी पर्न थालेपछि नातिनी च्यापेर अर्काको टहरोमा जान्छु ।’आफू बुढी भएको र नातिनी सानै भएको हुँदा बाढी आइहाले के गर्ने भन्ने चिन्ता आकाशमा बादल मडारिदा नै हुने उनी बताउँछिन् ।७० वर्षीया डिग्रा देवी साउँद, ७५ वर्षीया गोल्मा गुरुङ ,६० वर्षीया हिमा देवी खत्री लगायत यहाँ बस्ने सबैको पीडा उस्तै उस्तै छ । कहिले बाढी त कहिले जङ्गली जनावरको आतङ्क उनीहरू रात परेपछि राम्ररी निदाउन सक्दैनन् ।पुरुषहरू रोजगारीका लागि भारत गएपछि वृद्ध वृद्धा, महिला र बालबालिका मात्र बस्ने भएकोले सबै कुराबाट आफूहरूलाई डर रहेको उनीहरूको भनाई छ।बाढी पहिरोमा मानवीय कारक- हरित गृह ग्यासको उत्सर्जन बढे सँगै पृथ्वीको तापक्रम पनि बढेको छ । सन १८८० देखि प्रतिदशक ०.१४ डिग्रीफारेनहाइट (०.०८ डिग्री सेल्सियस) ले पृथ्वीको तापक्रम बढेको पाइएको छ ।सन् १९८१ यता हरेक एक दशकमा ०.३२ डिग्री फरेनहाइट (०.१८डिग्री सेल्सियस) ले तापक्रम वृद्धि भइरहेको राष्ट्र सङ्घीय वातावरण कार्यक्रम (यूनेप) को तथ्याङ्कमा छ ।वायुमण्डलीय तापक्रममा आएको परिवर्तनले विश्वव्यापी मनसुनी गतिविधिमा समेत परिवर्तन भएको जलवायु विज्ञ तथा मध्यपश्चिम विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका प्रमुख उपकुल पति सुदिप ठकुरीको भनाइ छ ।
जलवायु परिवर्तनको असरले मनसुनमा परिवर्तन हुने कुरा वैज्ञानिक तथ्यमा रहेको बताउँदै उनले भने,‘मनसुन परिवर्तन हुनु जलवायु परिवर्तनको एउटा महत्त्वपूर्ण सूचक हो ।’सामान्यतया नेपालमा मनसुनको समय असार देखि भदौसम्मको हो (जुन देखि सेप्टेम्बर सम्म)तर अहिले मनसुनको समय पछाडि धकेलिएको देखिन्छ ।बाढी, पहिरो र सुख्खा खडेरी पर्नु जलवायु परिवर्तनले नेपालमा पारेका प्रमुख प्रभावहरू हुन् । नेपालजस्तो मुलुकका लागि मनसुनको गतिविधिमा थोरै मात्र फरकले पनि पहाडी भेगमा ठुला ठुला पहिरो जाने र तराईमा बाढीको प्रकोप बढ्ने गरेको पाइएको छ ।अझ अहिलेको अवस्थामा वातावरणीय पक्षको ख्याल नै नगरी गरिने मानवीय क्रियाकलापका कारण जलवायु सिर्जित समस्याहरूलाई थप संवेदनशील र जोखिम बनाएको छ।समग्र देशमा जस्तै विगतको वर्षहरूलाई हेर्ने हो भने सुदूरपश्चिममा पनि निकै पानी परिरहेको छ । अतिवृष्टि सँगै मानवीय गतिविधि विशेष गरी जथाभाबी सडक निर्माणका कारण पहाडी भेगहरूमा पहिरो तथा तराईमा बाढीको प्रकोप बढ्ने गरेको बताउँदै ठकुरीले भने,‘चुरे क्षेत्रको माटोको बनावट एकदमै खुकुलो हुन्छ, त्यहाँ पानी पर्ना साथ सानो पानीसँगै माटो र ग्रेगान बग्न थाल्दछ ।’ पानी जमिनमा सोसिँदैन जसले गर्दा पानी पर्नासाथ एक्कासि खोला नाला बढेर बाढी पहिरो जाने गरेको छ ।वातावरणीय पक्षलाई ख्याल नराखी जथाभाबी भू–बनोटमा परिवर्तन गरिनु,विभिन्न मानवीय क्रियाकलाप हुनु र मनसुनको समयमा आएको परिवर्तन बाढी, पहिरोको कारण रहेको उनले बताए ।
निरीह निकाय-विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार कैलाली जिल्लामा पनि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समिति गठन भएको छ ।समितिमा जिल्ला समन्वय समितिका प्रतिनिधि,जिल्ला भित्रका स्थानीय तहका अध्यक्ष तथा प्रमुख लगायतका जिम्मेवार पदाधिकारी रहेका छन् । तर पनि २ वर्ष देखी आफ्नै ज्यानलाई जोखिममा राखेर चुरेको वनमा बसिरहेकाहरूको व्यवस्थापनमा यो समितिले केही गर्न सकेको छैन ।यस्ता विपद्मा परेका मानिसहरूका लागि भनेर जिल्लामा विपद् व्यवस्थापन कोष समेत छ । उक्त समितिबाट टहरो निर्माण बाहेक अन्य कुनै पनि किसिमको राहत नपाएको पीडितको गुनासो छ ।‘न त गाँसको ठेगान छ, न पानीको, न स्वास्थ्य उपचारको केही छैन’ स्थानीय विश्ना सार्की भन्छिन्, ‘हामीलाई सरकार भए नभएको केही महसुस छैन ।’दुई छाक टार्न श्रीमानलाई भारत पठाएको बताउने उनी सरकारले यही केही व्यवस्था गरिदिए आफूहरूलाई सहज हुने बताउँछिन् । ‘जङ्गलमा पाइने कन्दमूल खाएर हामीले सुरुमा भोक मेटाएका थियौँ’ स्थानीय हिमा देवी खत्री भन्छिन्,‘यो जङ्गलमा बस्न भन्दा अन्तै लगेर राखिदिए बाचिन्थ्यो कि । ’पहिरो बाट पीडित भएका उनीहरू अहिले बाढी र जङ्गली जनवारबाट पनि त्रसित छन् । त्यसै माथि बेला बेलामा वन कर्मचारीहरूले उनीहरूलाई हटाउने चेतावनी दिँदा लालावाल लिएर कहाँ जाने भन्ने चिन्ताले सताउने गरेको उनीहरू बताउँछन् ।जलवायु परिवर्तनका अन्तर्राष्ट्रिय प्रतिबद्धता र विभिन्न राष्ट्रिय नीति तथा कार्यक्रमहरू नेपाल सरकारले निर्माण तथा कार्यान्वयन गरेको भएता पनि यो क्षेत्रका बाढी पहिरो पीडितहरूले भने कुनै पनि प्रकारको सहायता पाउन सकेका छैनन् । अझ विशेष गरी यस खालको समस्यामा महिला तथा बालबालिका प्रत्यक्ष मारमा परेका छन् ।यता जिल्ला प्रशासन कार्यालय, कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले राष्ट्रिय वनमा टहरो बनाई बसेका पहिरो पीडितहरूलाई केहि समयका लागि मात्रै त्यहाँ राखेको र अर्को व्यवस्था भएमा उक्त क्षेत्र पीडितहरूले छोड्न पर्ने बताउँछन् ।‘गाउँपालिका यो समस्या लिएर हामीकहाँ आएका थिए’ जोशीले भने, ‘हामीले निर्णय गरेर केन्द्रमा पठाएका छौ। केन्द्रको निर्णय नआउन्जेल हाललाई केहि गर्न सकिँदैन ।’हालकै स्थानमा व्यवस्थापन गर्ने वा अन्यत्र व्यवस्थापन गर्ने भन्ने कुरा केन्द्रको निर्णय पश्चात् मात्र भन्न सकिने उनले बताए ।
तराईमा बाढीको सास्ती- बेमौसमी तथा भारी वर्षाको कारण चुरे गाउँपालिका जस्तै कैलालीको तल्लो तटीय क्षेत्रमा पर्ने भजनी, जोशीपुर,टिकापुर,धनगढी,गोदावरी तथा मोहन्याल लगायतका पालिकाका स्थानीयहरू पनि बाढीको समस्याबाट पीडित छन् । बाढीका कारण जोशीपुर गा।पा, भजनी र टिकापुर न।पा। का स्थानीयहरूले बर्सेनि ठूलो सास्ती झेल्नुपर्ने बाध्यता छ ।गएको असोजमा आएको बाढीले भजनी न।पा। का स्थानीयहरूले अहिले भोकमरीको समस्या झेलिरहेका छन् । प्रत्येक वर्ष आउने बाढीले लगाएको अन्न बाली सबै सखाप पारिदिन्छ भजनीकी स्थानीय सुनिता जिसी भन्छिन्, ‘खेती नै नलगाऊ भने हुँदैन । हरेक वर्ष लगाउँछौं । तर भित्र्याउन नपाउँदै बाढीले लैजान्छ ।’बाढीबाट कैलालीमा मानिसहरूले बर्सेनि अकालमै ज्यान समेत गुमाइरहेका छन् ।जिल्ला विपद् व्यवस्थापन समितिले बाढीरपहिरोबाट पीडितहरूलाई केहि राहत प्रदान गर्ने गर्दछ । आर्थिक वर्ष २०७८र७९ मा बाढीबाट कैलालीमा २ जनाले ज्यान गुमाए भने धेरै परिवार विस्थापित भएका थिए । जिल्ला विपद् व्यवस्थापन समितिले ज्यान गुमाएका परिवारका आश्रितलाई रु। २ लाखका दरले र बाढीबाट प्रभावित भएका ६ ओटा परिवारलाई जम्मा रु। ९० हजार राहत रकम प्रदान गरिएको बताएको छ। त्यस्तै आर्थिक वर्ष २०७९र८० मा ५ जनाले बाढीबाट ज्यान गुमाएका थिए, उनीहरूको परिवारलाई समेत रु। २ लाखका दरले राहत र कम प्रदान गरिएको र बाढीबाट प्रभावित भएका ७ जनाको परिवार लाई जम्मा रु। १ लाख ७ हजार राहत रकम प्रदान गरिएको जिल्ला विपद् व्यवस्थापन समिति कैलालीले बताएको छ।कैलाली जिल्लामा सबैभन्दा बढी भजनी नगरपालिकाका स्थानीयहरू बाढीबाट प्रभावित छन् । गत असोज कार्तिकमा आएको बाढीबाट पीडितहरू घर नै छोडेर हुलाकी सडकमा बास बसे भने पछि बाढी कम हुँदै गए पछि घर फर्के । यो क्रम प्रत्येक वर्ष दोहोरी रहने स्थानीय बताउँछन् ।
पीडितको पहिचानमा समस्या- चुरेका बाढी पीडित ५५ घरधुरीका लागि भनेर विपद् व्यवस्थापन समितिको समन्वयमा राष्ट्रिय वनको १० हेक्टर जमिनमा अस्थायी रूपमा टहरो बनाई बस्ने व्यवस्था गरियो । तर अहिले उक्त स्थानमा विभिन्न ठाउँबाट ४ सय भन्दा बढी घरधुरी बसोबास गरिरहेका छन् ।वस्ति बस्ने क्रम बढेको, जसले गर्दा वास्तविक पीडित पहिचानमा समस्या रहेको चुरे गाउँपालिकाका अध्यक्ष चक्र बोगटीले बताए ।‘अर्को व्यवस्था नभए सम्म पीडितहरूलाई अन्त सार्न सकिँदैन’उनले भने ‘तर वास्तविक पीडितहरूको पहिचान गर्न आवश्यक छ ।’यसरी अन्धाधुन्ध जो पनि आएर बस्ने हो भने वास्तविक पीडितको व्यवस्थापनमा समेत समस्या हुने उनको भनाई छ ।अस्थायी रूपमा बाढी पीडितका लागि मात्रै बस्न दिएको तर अहिले जताततैबाट मानिसहरू बस्न आएकोले पालिकाले गाउँपालिकाका उपाध्यक्षको संयोजकत्वमा एउटा कार्यदल गठन गरेको र उक्त कार्यदलले चाडै नै वास्तविक पीडित पहिचान÷छानबिनको प्रक्रिया सुरु गर्ने उनले बताए ।उनी भन्छन्, ‘बसोबासका लागि त्यहाँ धेरै समस्या छ, केहि समयका लागि भए पनि खानेपानीको व्यवस्था गरेका छौ बालबालिकाका लागि अस्थायी विद्यालयको अनुमति दिएका छौँ छिटै बस्ती व्यवस्थापन गर्ने प्रयास गर्नेछौं। ’चुरेका वास्तविक पीडितहरूको छानबिन नभएकाले उनीहरूलाई सहयोग गर्न समस्या भएको चुरे गाउँपालिका उपप्रमुख धना देवी थापाले बताइन । गएको असोज कार्तिकको समयमा केहि सहयोग गर्ने योजना बनाएको बताउँदै उनले भनिन,‘हामी सँग भएको तथ्याङ्कमा पनेरुगडा र ताकगडामा गरि २७६ घरधुरी पीडित छन् तर त्यहाँ ४०० भन्दा बढि घरधुरी रहेका छन् त्यसैले सहयोग गर्न सकेनौ ।’उनीहरूलाई अहिले सम्म गाउँपालिकाबाट कुनै पनि सहयोग नगरेको उनको भनाई छ । वास्तविक पीडितहरूको पहिचान नभए सम्म कुनै पनि सहयोग गर्न सक्दैनौ । छिटै नै वास्तविक पीडितहरूको छानबिन गर्ने प्रयास भइरहेको उनले बताइन ।कैलालीका धेरै सामुदायिक वन र राष्ट्रिय वनहरूमा कतिपय बाढी पीडित र कतिपयले बाढी पीडितका नाममा बसोबास गरिरहेका छन् । कैलालीको बसन्ता वन संरक्षण क्षेत्र अन्तर्गत पर्ने हुलाकी राजमार्ग आसपासका वन क्षेत्र, भजनी ९ स्थित जनज्योति सोनीया सामुदायिक वन र भजनी बजार नजिकैका वन क्षेत्र लगायतका सामुदायिक वनहरूमा कहीँ स्थानीय र कहि अन्यत्र बाट आएर बाढी पीडितका नाममा बसोबास गरिहरेका छन् ।यो आलेख UKAID को सहयोग प्राप्त ब्रिटिस काउन्सिलको रोड टु कप अभियान अन्तर्गत जलवायु परिवर्तनमा महिला रिपोर्टर अनुदानको सहयोगमा तयार पारिएको हो ।