धनगढी। झण्डै डेढ वर्षअघि नेकपा एमालेबाट अलग भएको एकीकृत समाजवादी पार्टी अहिले राजनीतिक रुपमा अप्ठ्यारो स्थितिमा आइपुगेको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनमा काँग्रेस र माओवादीसँग गठबन्धनमा रहेको सो पार्टी राष्ट्रिय दल बन्न असफल भएको हो ।
त्यस्तै कांग्रेस नेतृत्वको गठबन्धन छाडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमालेसँग मिलेर प्रधानमन्त्री बनेपछि समाजवादी झन् अप्ठ्यारो अवस्थामा पुगेको छ। अहिले केन्द्रमा माओवादी एमालेलगायत अन्य सानादल सँगको गठबन्धनमा सो पार्टी सरकार बाहिर रहेको छ। अहिले केन्द्र सरकारमा अप्ठ्यारो अवस्थामा पुगेको समाजवादी पार्टी सुदूरपश्चिम प्रदेशसभामा यहि अवस्थामा पुगेको छ।
सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीका चार सांसद् छन्। तीन प्रत्यक्षबाट निर्वाचित र समानुपातिकबाट एक जनाको सहभागिता छ। चार जना सांसद् रहेको यो पार्टीबाट चारै जनाले संसदीय दलमा पद पाएका छन्। बैठकले दलको नेतामा कैलाली निर्वाचन क्षेत्र ४ क को प्रदेशसभामा निर्वाचित दीर्घ सोडारी चयन भैसकेका छन्। यस्तै उपनेतामा कन्चनपुरबाट निर्वाचित प्रकाश रावल, बाजुराबाट निर्वाचित नरेश शाहीलाई प्रमुख सचेतक र माया पन्तलाई सचेतक तोकिएको छ । सुदुरपश्चिम प्रदेशसभाका निर्वाचित प्रदेश सभा सदस्यहरुले सपथ खाएर सरकार गठनकोे तयारी गरिसकेको अवस्थामा एकीकृत समाजवादी भने अलमलमा परेको छ।
केन्द्रमा माओवादी एमालेलगायत अन्य सानादलसँगको गठबन्धनमा एकिकृत समाजवादी पार्टी सरकार बाहिर रहेको अवस्थामा सुदुरपश्चिम प्रदेशमा पर्ख र हेरको अवस्थामा पुगेको छ । संसदीय दलको नेता तोकिएका सोडारीले सरकारमा जाने की नजाने भन्ने बारेमा अलमलमै रहेका छन्। संसदीय दलको नेता समेत रहेका एकिकृत समाजवादी पार्टीका नेता दीर्घ सोडारीले अहिलेको सत्ता गठबन्धनका साथीहरुले हामीहरुसँग छलफल र बहस नगरेको बताए । उनले भने, हामीले यस अघि एउटा गठबन्धनमा चुनाव लड्यौ। तर अहिले सत्ता गठबन्धन अर्को दलको भएको छ। पहिला सत्ता गठबन्धनका साथीहरू हामीसँग छलफल र बहस गर्नुपर्छ उनले भने। यदीसत्ता गठबन्धनदलहरुले आवश्यक परेपछि हामीसँग छलफल गर्न आउनुपर्यो, त्यसपछि हामी छलफलमा बसौला उनले भने। त्यसैले सरकार जाने की नजाने भन्ने बारेमा अहिले हाम्रो हेर र पर्ख नीति रहेको छ उनले भने। उनले अहिलेसम्म हामीसँग कसैले छलफल नगरेको बताउँदै नयाँ सत्ता गठबन्धन भएका साथीहरु कुन रुपमा अघि बढ्छन् त्यसरी निर्णय लिने बताए। उनीहरु छलफलमा आए त्यही आधारमा हाम्रो सहभागिता हुने एकिकृत समाजवादी पार्टीका नेता दीर्घ सोडारीले जानकारी दिए ।