कैलाली। सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख देवराज जोशीले आज दलहरूलाई समय निर्धारण गर्ने भएका छन्। प्रदेश प्रमुख जोशीले हिजै समय दिने तयारी गरेका थिए । तर, दलहरूले आजका लागि आग्रह गरेपछि अहिले बिहान १० बजे नयाँ सरकार गठनका लागि समय दिन लागेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनको दाबी पेश गर्न एक साताको समय दिन लागेका हुन् । सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेश सभा सदस्य छन् । यहाँ सरकार बनाउन २७ सांसद आवश्यक पर्छ ।सुदूरपश्चिम प्रदेशमा कुनै पनि एक दलले सरकार बनाउन सक्ने अवस्था छैन। प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत पुर्याएर मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आज समय निर्धारण गरेसँगै सुदूरपश्चिम प्रदेशले एक साता भित्रै नयाँ सरकार पाउने छ।
माओवादी केन्द्रको सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्टलाई सर्वसम्मत चयन गरेको छ। एमालेले सुदूरपश्चिमको भावी मुख्यमन्त्रीका लागि राजेन्द्र रावललाई अघि सारेको छ।तर नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा नजाने बताएपछि सरकार निर्माणमा विलम्ब हुने देखिएको छ। सोमबार प्रदेशसभाको पहिलो बैठकमा नागरिक उन्मुक्ति आक्रामक रुपमा प्रस्तुत हुँदै अवरोध गर्ने चेतावनी दिएको छ।
चौधरीको रिहाइका लागि नागरिक उन्मुक्ति पार्टीले माघी पर्वसम्मको अल्टिमेटम दिएको पार्टीका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले बताए। कैलाली टीकापुर आन्दोलन व्यक्तिगत स्वार्थका लागि नभएको भन्दै प्रमुख सचेतक चौधरीले राजनीतिक मुद्दा बनाएर रेशम चौधरीलाई रिहा गर्नु पर्ने माग गरेका छन्।सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ नेकपा एकीकृत समाजवादीका ४ राप्रपाका एक र स्वतन्त्र एक सांसद छन् ।