धनगढी। कैलालीका तीन जना नेपालीको भारतमा निस्सासिएर मृत्यु भएको भनिएको घटना हत्या गरिएको आशंका गरिएको छ। कैलाली गौरीगङ्गा नगरपालिका–१ गोप्काका एकै परिवारका तीन जनाको भारतको मेरठमा सुतेकै कोठामा ज्यान गुमाएका भनिएका उनीहरुको यहि पुष १७ गते मृत्यु भएको थियो।
मृत्यु हुनेमा गोप्काका चन्ने भुल, उनकी श्रीमती कुमारी भुल र पाँच वर्षीया छोरी अञ्जली रहेका छन्। उनीहरु त्यहाँ मजदुरी गर्दै आएका थिए ।
रेलमा प्रयोग गरिने कोइला राति कोठामा बालेर सुतेको बेला निस्सासिएर मृत्यु भएको भनिए पनि घटना शङ्कास्पद् रहेको वडा अध्यक्ष बोहराले बताए। चन्नेको शरीर र हातमा घाउ देखिएको र मुख पनि बाङ्गिएको उनको भनाइ छ।
शरीरमा देखिएको घाउ र भारतीय प्रहरीले उपलब्ध गराएको फोटो हेर्दा हत्या भएको जस्तो देखिएको वडा बोहराले बताए । मृतक तीनै जनाको मङ्गलबार अन्त्येष्टि गरिएको छ। भारतबाट शव ल्याएर अन्त्येष्टि गरिएको गौरीगंगा नगरपालिका–१ का वडा अध्यक्ष डबलबहादुर दियाकोटी बोहराले जानकारी दिए।
भारतको उत्तर प्रदेशस्थित मेरठमा उनीहरुको कोठामा मृत्यु भएको बताइएको छ। मृतक भुल परिवार गरिबीको कारण भारतमा काम गर्दै आएका थिए । भुल मेरठमा काम गरेको छ/सात वर्ष भइसकेको छ। आमाबुबासहित बहिनीको मृत्यु भएपछि घरमा रहेको तीन बालबालिकाको बिचल्ली भएको छ। घरमा दुई छोरी र एक छोरा रहेका छन्। उनीहरु टुहुरो भएका छन्।