काठमाडौं। नवनियुक्त गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तलाई न्याय दिन पहल गर्ने पहिलो निर्णय गरेका छन् । सपथ ग्रहणपछि सिंहदरबारमा पुगेर कार्यभार सम्हालेपछि उनले आफ्नो पहिलो निर्णयको रुपमा निर्मला पन्तलाई न्याय दिनको लागि पहल गर्ने निर्णय गरेको बताए। बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् ।
उनले यही नै गृहमन्त्रीको रुपमा आफ्नो पहिलो निर्णय हुने भन्दै सचिव विनोदप्रकाश सिंहलाई यसको फाइल बनाउन निर्देशन दिए। यसअघि पार्टीको जिल्ला भेलामा सहभागी हुन महेन्द्रनगर पुगेका लामिछानेले बलात्कारपछि हत्या भएकी निर्मला पन्तको घरमा पुगेर यस्तो बताएका थिए । उनले निर्मलाकी आमा दुर्गा पन्तलाई भेटेर आफू जिवित रहुँन्जेलसम्म न्यायका लागि लडिरहने प्रतिबद्धता जनाएका थिए ।
निर्मलाकी आमालाई भेटेपछि उनले फेसबुकमा लेखेका थिए, न्याय नपाए गोर्खा जानू भन्ने चलन हाम्रा पुर्खाहरुले सयौं वर्ष अगाडि चलाएका थिए । एउटा देशको नागरिकले अन्याय भएको महशुस गरे। न्यायालय नै अन्तिम विकल्प हो, त्यो अन्तिम विकल्पलाई पनि राजनीतिकरणले ध्वस्त बनाए। चिन्ता नगर्नुहोस, मैले बाटो फेरेको मात्र हुँ, वाचा फेरेको छैन । आफू जिवित हुन्जेल निर्मलाले न्याय पाउने आशलाई अन्त्य हुन दिने छैन। यसैपालि नेतृत्व गरेर ,अपराधीलाई सजाय नदिलाई आराम गरेर बस्ने छैन ।’ भन्दै फेसबुकमा लेखेका थिए,भीमदत्त नगरपालिका २ की निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार बर्ष पुगिसक्दा समेत दोषी पत्ता लाग्न सकेको छैन् ।