धनगढी। सुदूरपश्चिम प्रदेशमा पनि नयाँ सरकार गठनकालागि नेकपा एमाले-माओवादीसहितको नेतृत्वको गठबन्धनलाई बहुमत पुग्ने भएको छ। केन्द्रमा बनेको नेकपा एमाले, नेकपा माओवादीसहितको नयाँ गठबन्धनको समिकरणअनुसार सुदूरपश्चिममा पनि सरकार गठनका लागि सुविधाजनक बहुमत पुग्ने भएको हो।
जसरी केन्द्रमा सबैभन्दा ठूलो दल नेपाली काँग्रेस प्रमुख प्रतिपक्षीमा पुगेको छ त्यसै अनुसार सुदूरपश्चिम प्रदेश सभामा पनी त्यही भूमिकामा रहने देखीएको छ। सुदूरपश्चिम प्रदेश सभामा ५३ प्रदेश सभा सदस्य छन्। प्रदेश सरकार गठनका लागि २७ सदस्यको आवश्यकता पर्ने भएकाले सरकार बनाउन २७ जनाको समर्थन चाहिने भएकाले नेकपा माओवादी केन्द्र ११, नेकपा एमाले १०, नागरिक उन्मुक्ति पार्टी ७, र राप्रपा १ गरेर जम्मा २९ सिटसहित नयाँ गठबन्धन सरकार बन्ने भएको छ।
केन्द्रको समिकरण अनुसार सुदुरपश्चिम प्रदेशमा सबै भन्दा ठुलो दल बनेको नेपाली काँग्रेस १९ भएपनी प्रमुख प्रतिपक्षी दलको हैसियतमा बस्नेछ भने नेकपा एकीकृत समाजवादीसँग चार सिट भएपनी त्यही भूमिकामा प्रतिपक्षीमा पुगेको छ। एक जना स्वतन्त्र रहेका छन्।सत्ता गठबन्धन कायम रहेको अवस्थामा सबैभन्दा ठूलो दल बनेको काँग्रेस सुदूरपश्चिममा सरकारको नेतृत्वका लागि प्रमुख दावेदार थियो। अब एमाले र माओवादीमध्ये एउटा पार्टीको नेतृत्वमा प्रदेश सरकार बन्ने देखीएको छ। नेकपा एमाले सुदूरपश्चिमका सचिव तथा प्रदेशसभा सदस्य धर्मराज पाठकले शीर्ष तहका नेताहरुबीच हुने समझदारीका आधारमा प्रदेश सरकारको नेतृत्व कुन पार्टीले गर्ने भन्ने कुराको टुंगो लाग्ने बताए।
पाठकले संघीय सरकारमा शक्ति बाँडफाँट भएपछि प्रदेश सरकार गठनका विषयमा छलफल अघि बढ्ने बताए। केन्द्रको राजनिती उलटफेर भएपछि सुदुरपश्चिममासंसदीय दलको नेता को बन्ला भन्ने बारेमा चर्चा सुरु भएको हो ।एमाले संसदीय दलको नेतामा धर्मराज पाठक र राजेन्द्र रावल दलको नेता बन्ने चर्चा सुरु भएको छ। पाठक एमाले प्रदेश सचिव हुन् भने रावल एमाले पोलिटब्युरो सदस्य तथा प्रदेश सह इन्चार्ज हुन्। दुबै जना समानुपातिक मार्फत प्रदेश सभा सदस्य हुन् । यस पटक रावल र पाठक मध्येबाट एक जना संसदीय दलको नेता बन्ने सम्भावना बढी रहेको एमाले नेताहरूको दाबी छ ।सुदूरपश्चिम प्रदेशमा एमालेका प्रत्यक्ष तर्फका ३ जना र समानुपातिक तर्फबाट ७ जना गरी १० जना प्रदेश सभा सदस्य छन्। देश सभा सदस्यहरूको लागि १५ गते पद तथा गोपनीयताको शपथ ग्रहणको तयारी भइरहेको छ।
त्यो भन्दा अघि नै दलको नेता छनोट गरिने प्रदेश सचिव पाठकले जानकारी दिए। उनका अनुसार आज भोलिमै प्रदेश समितिले यस विषयमा छलफल अघि बढाउने छ र संसदीय दल भित्रै नेता छनोट गरिने छ। आज भोलि नै यस विषयमा छलफल अघि बढाउनले बताउँदै शपथ ग्रहण भन्दा पहिले नै नेता छनोट गर्ने तयारी रहेको उनले बताएका छन्। यस्तै एमाले संसदीय दलको नेताका लागी केन्द्रीय सदस्य सन्तोष शर्मा थापा पनि प्रदेश सभा सदस्य रहेकी छिन्। उनको चर्चा भने त्यति भएको छैन् । शर्मालाई यस अघि राष्ट्रिय सभा सदस्यमा पनि पार्टीले अघि सारेको थियो। सिनियारिटीले रावल, शर्मा र पाठक भए पनि यस पटक रावल र पाठक मध्ये एक संसदीय दलको नेता बन्ने सम्भावना बढी रहेको एमाले नेताहरूले दाबी गरेका छन्। माओवादीबाट सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्ट मुख्यमन्त्रीका दावेदार छन्।
सुरुमा नेता भट्ट निर्विकल्प जस्तै थिए। तर कञ्चनपुर क्षेत्र नम्बर २ को प्रदेशसभा (१) बाट विजयी भएका ओमबिक्रम भाट (सरल)ले पनि दाबी प्रस्तुत गरेपछि संसदीय दलको नेतामा चुनौती थपिएको हो। उनीहरु दुबैले आफू दलको नेता बन्ने भनेर एक अर्कोलाई चुनौती दिइरहेका छन्।भाटले दलको नेता चयनका लागि चुनाव हुने अवस्थामा उम्मेदवारी दिने बताउने र पार्टीमा पुस्तान्तरण आवश्यताको रहेको बताएका छन् ।प्रदेशमा एमालेले नेतृत्व गर्ने अवस्था आए पोलिटब्यूरो सदस्य राजेन्द्रसिंह रावल मुख्यमन्त्री बन्न सक्छन् । सुदूरपश्चिम प्रदेशमा यसअघि पाँच वर्ष माओवादी केन्द्रले सरकारको नेतृत्व गरिसकेकाले भागबण्डामा क्रममा एमालेले मुख्यमन्त्री पाउन सक्ने आकलन गरिएको छ । नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले पनि प्रदेश सरकारको नेतृत्व र मन्त्रालयको बाँडफाँट सबै दलहरुबीचको सहमतिका आधारमा हुने बताए । पण्डितले अहिले संघीय सरकार गठनको प्रक्रिया अघि बढेकाले छिट्टै प्रदेश सरकार गठनका सम्बन्धमा छलफल हुने उनको भनाइ छ ।